INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट

चङ्खेली गाउँपालिका–३ मिमी घर भई हाल सोही गाउँपालिका स्वास्थ्य संयोजक ५० वर्षीय कालिबहादुर बुढालाई चङ्खेली गाउँपालिका–४ पाली स्थित गौरी शङ्कर प्राविका प्रधानाध्यापक अमृत रोकायाले कुटपिट गरेको भन्दै उजुरी परेको छ ।

शिक्षक रोकायले होम आइसोलेशनमा बसेका कोभिड सङ्क्रमितलाई दैनिक भेट्न नआएको भन्दै जेठ २१ गते आफूलाई कार्यकक्षमै कुटपिट गरेपछि चङ्खेली गाउँपालिकाको कार्यालय र प्रहरी चौकी मेल्छाममा उजुरी दिएको संयोजक बुढाले बताउनु भयो ।

‘संयोजक बुढाको शरीर माथि आगो लगाउने भन्दै रोकायले स्प्रिट छर्किएको तर नजिकै अन्य मानिस भएका कारण घटना हुन पाएन’, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले भन्नुभयो ।

घटनाका बारेमा अनुसन्धान गर्नको लागि प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले बताउनु भयो ।

गाउँपालिकाले पनि घटनाबारे थप छलफल गर्ने चङ्खेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईको भनाई छ । उहाँका अनुसार कुटपिटबाट सामान्य चोट लागेका संयोजक बुढालाई उपचार गर्नु परेन ।

अनुसन्धानमा दोषी देखिए आरोपितलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको भनाइ छ ।

अन्य

भिडियो