जन्मेको तीन महिनापछि छारे रोगबाट पीडित बनेका सिमकोट गाउँपालिका-७ को चौगानफयाका सात वर्षीय लोकेश शाहीको उपचारमा आर्थिक अभाव भएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न नसकिएको बालककी आमा सम्झना शाहीले गुनासो गर्नु भयो । शाहीका अनुसार बिरामी छोराको अवस्था दिन प्रतिदिन कमजोर हुँदा मान्छे चिन्न समेत नसक्ने भएको छ ।
‘आफूसँग आर्थिक भएको भए छोरालाई जिल्ला बाहिर लिएर उपचार गर्न सकिन्थ्यो तर छैन । गाउँपालिका लगायतका निकायहरूमा आफ्नो पहुँच छैन’ शाहीले दुःखेसो पोख्नुभयो ।
उपचारका लागि जेठ ९ गते जिल्ला अस्पतालमा ल्याइएका लोकेशलाई छारे रोग भएको र निको हुन समय लाग्ने डाक्टर टसि लामाले बताउनु भयो ।
करीव ६ वर्षसम्म हिड्न नसक्ने लोकेश एक वर्ष यता हिडडुल गर्न थालेपछि परिवारमा खुशी छाएको थियो । पछिल्लो समय बिरामी आफ्नै तालमा हिड्ने र जे मन लाग्यो त्यहि खाने गर्न थालेपछि एकजना हेरचाहमै रहनुपर्ने हुँदा घरको काम पनि राम्रोसँग गर्न नपाएको परिवारको भनाई छ ।
समस्या बढ्दै गएपछि उपचारमा सहयोग गर्न र वौद्धिक अपाङ्गता भएका संस्थामा पालन पोषणको व्यवस्थाका लागि अनेक प्रयास गरेपनि सफल नभएको बालकको आमाले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।
सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतले बिरामी बालकबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘क र ख बर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र भत्ता तथा उपचारको सुविधा छ । डाक्टरको सिफारिसको आधारमा अन्य बिरामीले पनि सोहि अनुसारको सुविधा पाउनेछन् ।’