INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले कुटपिट गरेको आरोपमा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

डोजरले ढुङ्गा फुटाउने क्रममा भएको विवादलाई लिएर छथरजोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष ५३ वर्षीय चन्द्रलाल तामाङले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

वैशाख २८ गते डोजरले ढुङ्गा फुटाउने क्रममा ढुङ्गा पल्टिएर धनकुटा नगरपालिका–२ का टेकबहादुर तामाङको विरूवा बारीमा क्षति पुगेपछि वडाध्यक्षले कुटपिट गरेको छथरजोरपाटी गाउँपालिका–१ का २४ वर्षीय हाकिम मगरको गुनासो छ । उहाँले दोषीलाई कारबाही गर्न माग गर्दै वैशाख २९ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

वडाध्यक्षले २०-२५ जनाको समूहलाई ल्याएर डोजर सहचालकलाई निर्घात कुटपिट गरेको डोजर चालक मोरङको पथरीशनिश्चर नगरपालिका–४ का २७ वर्षीय विपिन चौलागाँइले बताउनु भयो ।

कुटपिटबाट टाउको र गालामा चोट लागेका पीडितको वैशाख २८ गते हिलेस्थित पोलिक्लिीनिकमा उपचार भएको छ ।

वडाध्यक्षसहित छथरजोरपाटी गाउँपालिका–२ का २० वर्षीय सुदीप तामाङ र ३५ वर्षीय शुक्रबहादुर तामाङविरूद्ध पीडितले वैशाख २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्क बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा सत्यतथ्य बुझि दोषीलाई कारबाही गरिने एसपी अधिकारीले बताउनु भयो ।

घटनाका आरोपित वडाध्यक्ष तामाङले छलफलका क्रममा सामान्य भनाभन भएको तर आफूले हातपात नगरेको बताउनु भयो ।

पीडित पक्षले कुटपिट गर्ने वडाध्यक्ष तामाङसहित अन्य दोषीलाई प्रहरीले कारबाही नगरेको गुनासो गरेको छ ।

अन्य

भिडियो