सिमकोट गाउँपालिका–१ को कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी हुँदा पनि खानेपानीको व्यवस्था नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
दैनिक उपचार गर्न आउने बिरामीहरूका लागि र सँस्थामा कार्यरत कर्मचारीहरूले खोलाको पानी ल्याएर प्रयोग गर्नु परेको अनमी उषा भण्डारीले बताउनुभयो ।
स्वास्थ्य संस्थामा उपचार गर्न आउँदा पानी समेत पिउन नपाएरै घर फर्किनु परेको स्थानीय रूपकली भण्डारीले गुनासो गर्नुभयो ।
पानीको व्यवस्थाका लागि सिमकोट गाउँपालिका र प्रदेश सरकारलाई पटकपटक अनुरोध गर्दा समेत सुनुवाइ नभएको स्वास्यकर्मीहरूको भनाई छ । एकाइमा शौचालय पनि नभएपछि होटेलेहरूको शौचालय जानुपरेको सामुदायिक स्वास्थ्य एकाइका इन्चार्ज धन्जित भण्डारीले दुःखेसो पोख्नुभयो ।
सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सो स्वास्थ्य संस्थाका लागि खानेपानी र शौचालयको व्यवस्था गर्न बजेट अभाव भएको बताउनुभयो ।