INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २२ गते)

पश्चिम नेपालकै रेफरल अस्पतालकारुपमा स्थापित नेपालगञ्ज मेडिकल कलेजले कोभिड सङ्क्रमित बिरामी भर्ना गर्न नसक्ने  जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जका प्रबन्ध सञ्चालक डाक्टर सुरेशकुमार कनोडियाले वैशाख २२ गते प्रेस विज्ञप्ती जारी गर्दै नयाँ बिरामी भर्ना गर्न नसक्नुको कारण सार्वजनिक गर्नु भएको छ । विज्ञप्तीमा अस्पतालमा लिक्वीड अक्सिजन ट्याङक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्वीड अक्सिजन ट्याङक सकिएको र भारतबाट आउन नसकेकोले अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको उल्लेख गरिएको छ । कोभिड सङ्क्रमितको  प्रभावकारी उपचारका लागि मेडिकल कलेजले यसअघि सम्पूर्ण सेवा बन्द गरि ३ सय बेडको कोभिड–१९ डेडिकेटेड अस्पताल सञ्चालन गर्ने तयारी गरेको थियो । बिरामीको स्वास्थ्य उपचारप्रति अस्पताल गम्भीर रहेको भन्दै नेपाल सरकारले भारतबाट लिक्वीड अक्सिजन ट्याङक यथासक्य चाँडो उपलब्ध गराइदिए अस्पतालले तुरुन्त ३ सय बेड सञ्चालन गरी कोभिडका बिरामी भर्ना गर्ने विज्ञप्तीमा जनाइएको छ । अस्पतालले अक्सिजन अभावका विषयमा यसअघि वैशाख १९ र २१ गते अक्सिजन आपूर्तीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लिखित अनुरोध गरि अक्सिजन अभावका कारण अस्पतालमा ठूलो सङ्कट आउनसक्ने भन्दै जानकारी समेत गराएको उक्त विज्ञप्तीमा उल्लेख छ । प्रबन्ध सञ्चालक डाक्टर कनोडियाद्वारा जारी विज्ञप्तीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका कोभिड बिरामीको चाप हुने यस अस्पतालमा कोभिड बिरामीका लागि दैनिक ८ सय अक्सिजन सिलिण्डरको आवश्यता रहेकोले नेपाल सरकारलाई यथाशिघ्र अक्सिजन उपलब्ध गराउन माग गरिएको छ ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार कोभिडको सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले वैशाख २२ गतेदेखि वैशाख ३१ गते सम्मका लागि निषेध गर्नेनिर्णय गरेको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार तरकारी, फलफुल, खाद्यन्न, मासुजन्य पदार्थ, पानी र निर्माण सामाग्री विक्री वितरण गर्ने पसल प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । यस्तै विवाह, वर्तबन्ध लगायत अन्य संस्कारका कार्यक्रमहरू होटल तथा पार्टी प्यालेसमा सञ्चालन गर्न रोक लगाएको छ । पाल्हीनन्दन गाउँपालिकाले १० बेड क्षमताको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनु भयो ।  यसैगरी, जिल्ला अदालतले सेवा प्रवाहमा कटौती गरेको छ । वैशाख २१ गते अदालतले सूचना प्रकाशित गर्दै कोभिड–१९ को सङ्क्रमणबाट अदालतका कर्मचारीहरू, कानुन व्यवसायीहरू तथा सेवा ग्राहीहरूसमेत उच्च जोखिममा रहेकोले वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म अदालतबाट दिइने सेवा कटौती गरेको जनाएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ बमोजिम सुविधा तथा बालबालिकालाई अभिभावकको जिम्मा लगाउने निवेदन उपर सुनुवाइ हुने जनाएको छ ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार शिवराज नगरपालिकाले नागरिकको आधारभुत स्वास्थ्य सेवालाइ मध्येनजर गर्दै २४ घण्टा उपलब्ध गराउन आसोलेशन सेन्टर सञ्चालन गरेको शिवराज नपाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले बताउनु भयो । बुद्धभुमि नपाले कोभिडको  रोकथाम तथा नियन्त्ररणका  लागि बुद्धभुमि नपा– २ बडहरा स्थित गौतम बुद्ध क्याम्पसमा अक्सिजन सिलेण्डरसहित २५ बेडको आइसोलेशन सेन्टर तयार गरी सेवा सुरू गरेको छ ।  उक्त नपा आइसोलेशन सेन्टरले  अक्सिजनसहितको एउटा एम्बुलेन्सको व्यवस्था गरेको मेयर केशवकुमार श्रेष्ठले बताउनु भयो ।

रोल्पा जिल्ला प्रतिनिधि तिलक सङ्घर्ष मगरका अनुसार रोल्पा नगरपालिकाले ५० बेडको आइसोलेशन सेन्टर निर्माण गरेको छ । रोल्पा जिल्ला सदरमुकाम लिवाङको साततालेमा रहेको सहिद प्रतिष्ठानको भवनमा आइसोलेशन सेन्टर निर्माण गरेको हो । उक्त आइसोलेशन सेन्टरको वैशाख २२ गते पूर्व सभामुख कृष्णबहादुर महराले उदघाटन गर्नु भएको हो । उदघाटनको क्रममा महराले आइसोलेशन सेन्टरमा राम्रो उपचारको प्रबन्ध मिलाउन नगरपालिकालाई आग्रह गर्नु भयो । नगरपालिकाका मेयर पुर्ण केसीले आइसोलेशनमा चाहिने सम्पुर्ण तयारीहरू पुरा भइसकेको र  अब इन्टरनेट तथा सिसि क्यामेरा जडान कार्य भइरहेको बताउनु भयो । नरपालिकामा हाल पाँच वटा  अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको र थप अक्सिजन सिलिन्डर आपुर्तिका लागि प्रक्रिया थालिएको मेयर केसीले बताउनु भयो ।

अन्य

भिडियो