बाँकेमा निषेधाज्ञा समयावधि सकिएपछि जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख २० गतेको निर्णयले वैशाख २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । बाँकेमा अक्सिजन अभावका कारण नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले कोभिड सङ्क्रमितका लागि तयार पारेको ३ सय बेडको डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याउन सकेको छैन् ।अस्पतालको सबै तयारी पुरा भएपनि अक्सिजन अभावका कारण डेडिकेटेड अस्पताल सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका सह निर्देशक डाक्टर नितेशकुमार कनोडियाले बताउनु भयो । उहाँका अनुसार स्थानीय अक्सिजन उत्पादन गर्ने उद्योगले मागअनुसारको उत्पादन गर्न नसक्नु, भारतबाट आयात हुने लिक्वीड अक्सिजन टयाङ्कको आयात रोकिनु, सिलिण्डिरको अभाव हुनुलगायतका कारणले तयार रहेको डेडिकेटेड अस्पताल पनि सञ्चालन गर्न नसकिएको हो ।
रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार कोभिड सङ्क्रमणको जोखिम बढेसँगै अस्पतालमा बिरामीहरूको चाप बढदै गएपछि कोभिड अस्पतालहरूमा बेडको अभाव भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २० जना र धागो कारखानास्थित अस्थायी कोभिड अस्पतालमा हाल आइसीयुमा ३६ जना र भेण्टिलेटरमा १५ जना राखेर उपचार भइरहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका कोसभड फोकल पर्सन डा. नन्दु पाठकले बताउनु भयो । अस्पतालमा अक्सिजनको अभाव नभएपनि बेड अभाव हुँदा समस्या परेको डाक्टर पाठकले बताउनु भयो । उहाँका अनुसार अस्पतालमा आउने सबै बिरामी आईसीयुमा राखेर उपचार गर्ने खालका छन् । बेड अभावले उपचारमा सकस्या भएको छ । डाक्टर,नर्स, फिजियो थेरापी, ल्याव टेक्नीसियनलगायत कर्मचारीमा कोभिड पुष्टि भएपछि स्वास्थ्य जनशक्ति अभाव भएको छ ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार निस्दी गाउँपालिका–६ मा कोभिड सङ्क्रमित भेट्टीएपछि वैशाख २४ गते सम्म, रम्भा गाउँपालिका– २ मा एक जना सङ्क्रमितको मृत्यु पछि ताहुँ बजार र अगाहखोलाको लसुने बजार वैशाख २६ गतेसम्मका लागि सिल गरिएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनु भयो । यसैगरी रम्भा गाउँपालिका– ५ को ताहुँमा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोभिड पोजेटिभ देखिएपछि पूर्वमा काउले पानी , पश्चिममा जनता प्रावि., उत्तरमा नाचनडाँडा र दक्षिणमा माथिल्लो मलेङ्ग चौपारी क्षेत्र वैशाख २५ गते सम्मका सिल गरिएको वडा अध्यक्ष खुमकान्त बस्यालले बताउनु भयो ।
कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कपिलवस्तु उद्योग बाणिज्य सङ्घको आकस्मिक बैठकले बाणगंगा नगरपालिका भित्रका सबै पसलहरू एक सातासम्म बन्द गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो । कोभिड महामारी भयावह अवस्थामा पुगेको भन्दै पसलहरू बन्द गरी स्वास्थ्य मापदण्ड अपनाएर घरमै सुरक्षित बस्न आग्रह गरेको छ । यसैगरी कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र पत्रकारहरू समेत जोखिममा रहने भएको हुँदा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको भवनमा अक्सिजन सिलेण्डर सहित पाँच बेडको आइसोलेशन सेन्टरको तयार गरिएको छ । अस्थायी कोभिड अस्पतालका डाक्टरहरूको प्रत्यक्ष निगरानीमा रहनेगरी उक्त आइसोलेशन सेन्टर तयार गरिएको नेपाल पत्रकार महासंघका अध्यक्ष किरनमान बज्राचार्यले बताउनु भयो ।
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार जिल्ला प्रशासन कार्यालयमा वैशाख २० गते बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र र सर्वपक्षीय बैठकले वैशाख २० गते राती १२ बजेदेखि वैशाख ३१ गतेसम्मलाई निषेधाज्ञा लगाउने निर्णय गरेको छ । बैठकले औषधि पसल, स्वास्थ्य सामाग्रीका पसलहरू २४ घण्टा खुल्ला राख्ने, खाद्यन्य र दैनिक उपभोग्य बस्तु तथा सेवा, खाद्यान्न, तरकारी फलफुल, दुध डेरी , मासु पसल बिहान ६ बजेदेखि ९ बजेसम्ममात्र सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी भूमिकास्थान नगरपालिकाले वैशाख २० गते देखि वैशाख २६ गतेसम्म नगरपालिका क्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको छ । कोभिड सङ्क्रमण बढ्दै गएपछि कार्यलयको अत्याश्यक सेवा बाहेककका अन्य सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ । बैठकले भारत तथा तेस्रो मुलुकबाट आउने व्याक्तिहरूलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।