अदानचुली गाउँपालिकाका वडाध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल स्वास्थ्य चौकीको भवनमा राख्दा सेवाग्राहीलाई सास्ती भएको छ ।
अदानचुली गाउँपालिका–३ श्रीनगर स्थित स्वास्थ्य चौकीमा बिरामीको बेड वरिपरि मोटरसाइकल राखिएको र स्वास्थ्य संस्था ग्यारेजजस्तो भएको स्थानीय झुल बहादुर थापाले गुनासो गर्नुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ०७७ साउनदेखि स्थानीय जनप्रतिनिधिका मोटरसाइकल पार्किङ गर्दा बिरामी तथा कुरूवालाई अफ्ठेरो भएको अर्का स्थानीय धनराज धामीको भनाई छ ।
‘वडा अध्यक्षहरूका लागि भनेर गाउँपालिकाले बाइक किनेर थन्काउनु भन्दा एम्बुलेन्स, स्वास्थ्य उपकरण, औषधि खरिद गरेको भए उदाहरणीय हुनेथियो’ धनराज थप्नुहुन्छ ।
प्रत्येक वडामा प्रसुति सेवा सञ्चालन नगरेको, औषधि र स्वास्थ्य सामग्री हुनुपर्ने स्वास्थ्य संस्थामा असम्बन्धित बस्तु राखेर कोठा ओगट्ने काम भएको भन्दै श्रीनगरका स्थानीयले गुनासो गरेका छन ।

मोटरसाइकल राख्नको लागि अन्यत्र ठाउँ नहुँदा बाध्यताले स्वास्थ्य चौकी भित्र राख्नु परेको श्रीनगर स्वास्थ्य चौकी इन्चार्ज रामेश्वर थापाले बताउनु भयो ।
तत्काल गाउँपालिकाले मोटरसाइकल राख्नका लागि अस्थायी कटेरो बनाउने र त्यसपछि समस्या समाधान हुने उहाँको प्रतिक्रिया छ ।