INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख १९ गते )

भेरी अस्पताल नेपालगञ्जमा स्वास्थ्यकर्मी अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट २२ जना स्वास्थ्यकर्मी भेरी अस्पताल नेपालगञ्जमा आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डाक्टर सहित २२ जना स्वास्थ्यकर्मीलाई भेरीमा पठाउने निर्णय गरेको हो । भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि जनशक्ति अभाव भएको छ ।

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार अक्सिजन नपाउदा एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । कोभिड विशेष अस्पताल बेलझुण्डीमा वैशाख १८ गते भर्ना भएका तुलसीपुर उपमनपा –९ बेलुवाका ४८ वर्षीय पुरुषको वैशाख १९ गते दिउसो मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनु भयो । बिरामीलाई दिइरहेको अक्सिजन सकिएपछि थप गर्न नसक्दा उहाँको मृत्यु भएको वलीले बताउनु भयो । वलीका अनुसार अस्पतालमा अझै ५९ जना बिरामी गम्भीर अवस्थामा रहेको र उनीहरूलाई प्रतिघण्टा आठवटा सिलिण्डर अक्सिजन आवस्यक पर्छ । स्थानीय प्रशासनले जिल्लाका विभिन्न बजारमा छापा मारेर तथा व्यवसायीहरूको पहलमा २२ सिलिण्डर अक्सिजन अस्पतालमा ल्याएको छ । हाल अस्पतालमा ७३ सिलिण्डर अक्सिजनमात्रै रहेकाले वैशाख १९ गते रातिसम्म पनि नपुग्ने वलीले बताउनु भयो । अस्पतालमा  दैनिक १ सय ८० सिलिण्डर अक्सिजन आवश्यकता रहेको छ । नेपालगञ्जमा रहेको अक्सिजन उद्योगबाट ल्याउने गरिएकाले लाइन लाग्नुपर्ने, आउँदा जाँदा समय लाग्ने भएकाले बिरामीलाई जोखिम रहेको वलीले बताउनु भयो ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा कोभिड– १९ को सङ्क्रमण बढेसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्ष समितिको वैशाख १९ गतेको निर्णय अनुसार वैशाख  २१ गतेदेखि वैशाख  ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । कृष्णनगर नाकाबाट प्रवेश गर्ने यात्रुहरूलाई नेपाल प्रहरीले यातायात व्यवसायीसँग समन्वय गरी गन्तब्यसम्म पुर्‍याउने निर्णय गरिएको छ । जिल्लाका १० स्थानिय तहमा हालसम्म एउटा पनि क्वारेनटाइन निर्माण भएको छैन । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू सबै होम आइसोलेशनमा बसेका छन् । स्वास्थ्यमा बढी समस्या देखिएका व्यक्तिलाई मात्र अस्पतालमा  रिफर गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी, बिरामीहरूको चाप बढ्दै गएपछि बाणगंगा नपामा १५ बेडको अक्सिजन सिलिण्डरसहितको आइसोलेशन अस्पताल तयार गरिएको छ । शिवराज नपामा १० बेडको , यशोधारा गापामा चार बेडको र कपिलवस्तु नपामा २२ बेडको अक्सिजन सिलेण्डरसहितको आइसोलेशन तयार गरिएको छ । कपिलवस्तु नपा– ३ मा २२ बेडको कोभिड अस्थायी अस्पताल तयार गरी कोभिडका बिरामीको उपचार भइरहेको छ ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार नेपालगञ्ज रुपैडिया नाकाबाट वैशाख ९ गते देखि १८ गतेसम्म निषेधाज्ञाको अवधिमा २० हजार ६ सय २० जना नेपाल भित्रिएका छन् ।  हालसम्म  जिल्लामा क्वारेन्टाइन स्थापना गरिएको छैन । जिल्लामा सञलनमा रहेका आइसोलेसनको क्षमता ७ सय ७२ बेडको रहेको डिसिसिएमसीले जनाएको छ । हाल ४ सय ५९ जना आइसोलेशनमा रहेका छन् । पिसिआर परीक्षणका लागि तीनवटा प्रयोगशाला सशुल्क सञ्चालनमा रहेका छन् ।

अन्य

भिडियो