INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ः सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख १८ गते)

दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार तुलसीपुर उपमनपा–१७ बेलझुण्डीस्थित कोभिड  विशेष अस्पतालमा ६५ वटा बेड थप गरिएको छ । बेड अभाव हुँदा प्राङगणमै उपचार गर्नुपर्ने अवस्था आएपछि वैशाख १८ गतेदेखि आइसियु १०, एचडियु ५० र साधारण बेड ४० गरी एक सय बेड थप गरिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताउनु  भयो । अस्पतालमा  अक्सिजन प्रर्याप्त नहुँदा हाल ५५ वटा बेड मात्रै सञ्चालनमा ल्याइएको व्यवस्थापक वलीले बताउनु भयो । उहाँका अनुसार अक्सिजन र जनशक्ति थप्ने तयारी भइरहेको छ । बेलझुण्डी अस्पतालमा मा हाल ४८ जना उपचाररत छन् । यसैगरी घोराही उपमनपाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर १० बेड सञ्चालन गरेको छ । हाल कडा लक्षणसहितका बिरामी भेटिएकाले पहिलेजस्तो आइसोलेशन सेन्टर बनाएर राख्नुको कुनै अर्थ नभएको भन्दै उपमनपाले विरामीलाई अक्सिजनसहित राख्न प्रतिष्ठानसँग सहकार्य गरेर सेवा आरम्भ गरेको घोराही उपमनपाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनु भयो । तुलसीपुर उपमनपाले  तुलसीपुर ८ अश्वारामा ५० बेडको अक्सिजन सहितको आइशोलेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ । बबई गाउँपालिकाले अक्सिजनसहितको ३० बेडको आइसोलेशन केन्द्र सञ्चालनको अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनु भयो । यसैगरी, दङ्गीशरण, शान्तिनगर, बंगलाचुली गाउँपालिकाले आइसोलेशन बनाउने  तयारी गरेका छन भने देउखुरी उपत्यकाका लमही नपा, राप्ती, गढवा र राजपुर गाउँपालिकाले संयुक्त आइसोलेशन सेन्टर निर्माणका लागि छलफल थालेको लमही नपाका मेयर कुलबहादुर केसीले जानकारी दिनुभयो ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कोभिड सङ्क्रमितको सङ्ख्या  दैनिक बढ्दै गएको छ । जिल्लामा सक्रिय सङ्मितको सङ्ख्या ३ सय ८२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो । बुद्धभुमि नपा–९ ले वडामा निषेधााज्ञा जारी गरेको छ । २६ जनाको पसिआर परीक्षणमा  २४ जनामा पोजेटिभ आएसँगै निषेधाज्ञा जारी गरिएको वडा अध्यक्ष खुमानन्द न्यौपानेले बताउनु भयो । वडाले पाँच जना भन्दा बढी भेला नहुने , अति आवश्यक काम नभएसम्म घर बाहिर ननिस्कने , सिमादुरी कायम गर्ने र स्वास्थ्य मापदण्डका निर्देशनहरूको पालना गर्ने अत्यावश्क बाहेकका पसलहरू नखोल्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताउनु भयो । यसैगरी, बुद्धभूमि नपाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भए गरेको मेयर केशवकुमार श्रेष्ठले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला बासीहरूलाई आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड अपनाउन र  दश ओटै स्थानीय तहरूलाई अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माण गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले ‘तपाईको मास्क खोई’ अभियान सहित सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीले बताउनु भयो ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा एक साताका लागि लकडाउन गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख १७ गतेको बैठकले वैशाख १८ गते बिहान ६ बजे देखी वैैशाख २४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । लकडाउनको समयमा अत्यावश्यक सेवाहरू एम्बुलेन्स , दमकल,शव वाहन ,खाद्य सामाग्री, पशुपन्छी, फलफुल र दुध डेरीका गाडी, स्वास्थ्यकर्मी , सरकारी गाडी र प्रेस पासका गाडी बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । हाल जिल्लामा २ सय २२ जना सक्रिय संक्रमित रहेका छन् ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार कोभिड–१९ सङ्क्रमणसँगै  जिल्लामा वैशाख १८ गते राती १२ बजेबाट लागु हुने निषेधाज्ञा जारी गरिएको छ । वैशाख २५ गतेसम्म लगाइएको निषेधाज्ञा अत्यावश्यक बाहेकका सेवा सञ्चालनमा रोक लगाइएको छ । निषेधाज्ञाका कारण  बिपन्न वर्गका मजदुरहरूलाई स्थानीय तहले राहतको व्यवस्था गर्ने जनाइएको छ । जिल्ला अस्पतालको ओपिडी बन्द हुँदा नागरिकहरू उपचार लागि निजी क्लिनीक धाउन बाध्य छन् । स्वास्थ्य कार्यालयका अधिकृत पशुपति आचार्यका अनुसार कोभिड सङ्क्रमणका कारण जिल्लामा हालसम्म नौ जनाको मृत्यु भएको छ  भने २ सय २९ जना सङ्क्रमित रहेका छन् । जिल्लाका प्रत्येक स्थानीय तहमा पाँच  बेडको कोभिड अस्पताल र १० बेडमा आइसोलेशन रहेका छन् । हाल होम आइसोलेशनमा २ सय २५ जना रहेका छन् । जिल्लामा भेन्टिलेटरको सुविधा छैन् । जिल्लामा पहिलो चरणमा ४ हजार १ सय ७५ र दोस्रो चरणमा ४ हजार १२ जनाले कोभिड विरूद्धको खोप लगाएका छन् । जिल्लामा क्वारेन्टाइन छैनन्, देश र जिल्ला बाहिरबाट आएकालाई स्थानीय तहले होम आइसोलेशनमा राख्ने गरेका छन् । जिल्लामा सञ्चालित कोभिड–१९ प्रयोगशाला फागुन १ बाट बन्द रहेको छ । हाल  पिसिआर परीक्षण गर्न बुटवल जानुपर्ने  अवस्था रहेको छ ।

रुपन्देही जिल्ला प्रतिनिधि रिमा बिसीका अनुसार सैनामैना नपा–१ रानी बगियाका ४० वर्षीय हरिबहादुर पाण्डेले सैनामैनास्थित अस्थायी कोभिड अस्पतालको बाथरुममा तन्नाले झुण्डिएर आत्महत्या गरेको स्वास्थ्य संयोजक हेमराज पन्थीले बताउनु भयो ।  कडा ज्वरो आएर वैशाख १६ गते अस्थायी अस्पतालमा भर्ना भएका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो । शवलाई पोष्टमार्टम पश्चात वैशाख १८ गते अन्तिम संस्कार गरिएको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले बताउनु भयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखानामा सञ्चालनमा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेशन अक्सिजन पाइपलाइन बिस्तारका साथै ३६ बेडको एचडीयू को निर्माण गरी सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालका अनुसार

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार  जिल्लामा वैशाख १७ गते राती १२ बजेबाट निषेधाज्ञा सुरू भएको छ । वैशाख १५ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा सुरू भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो । निषेधाज्ञाको समयमा औषधि उपचार तथा अत्याश्यक काम बाहेक घर बाहिर निस्किन निषेध गरिएको छ ।

 

अन्य

भिडियो