लुम्बिनी प्रदेशका जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमणको दर बढ्दै गएपछि बाँके, दाङ,बर्दिया, पाल्पा र रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको आरोपमा प्रहरीले आठ जनालाई गिरफ्तार गरी प्रति व्यक्ति ९ हजार १ सय रुपियाँ जरिबाना गरेको छ । जरिबाना रकम बुझाउन नसकेका मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहारलाई एक महिनाका लागि कारागार थुनामा पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार निषेधाज्ञा उल्लङ्घन गरेको प्रहरी टोलीलाई ड्युटीमा बाधा अबरोध पुर्याएकोले संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारबाही गरिएको छ ।
दाङ जिल्ला प्रतिनिधि जयनारायण पुनका अनुसार कोभिड–१९ को सङ्क्रमणको दर बढ्दै गएपछि जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को निर्णय अनुसार वैशाख १७ गतेबाट वैशाख २५ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । उक्त अवधिमा तरकारी, पशुपंक्षीको दाना, दुध, विद्युत, इन्धन, टेलिकम, खानेपानी, औषधिका गाडी, एम्बुलेन्स तथा प्रेसका सवारी साधनहरू सञ्चालनमा आउने छन् । यस्तै उपभोग्य वस्तु खरिदका लागि हरेक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म खाद्यान्नका पसलहरु दुरी कायम गरेर खुलाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । निषेधाज्ञाको उल्लङ्घन गरे संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको अनुमतिमा जिल्ला बाहिर वा विदेशबाट आउनेहरूलाई १० दिन होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । जिल्लामा हालसम्म कोभिडका कारण ८३ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताउनु भयो ।
रोल्पा जिल्ला प्रतिनिधि तिलक घर्तीका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को वैशाख १६ गतेको बैठकले जिल्ला बाहिरबाट आउने व्यक्तिलाई १० दिनसम्म अनिवार्य होम क्वारेण्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । बैठकले सबै स्थानीय तहलाई आइसोलेशन बनाउन समेत निर्देशन गरेको छ । जिल्लाका सबै विद्यालयल बन्द गरी वैकल्पिक माध्यमबाट पठन पाठन गर्न निर्देशन दिएको छ । जिल्लामा हाल १९ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख नोखराज पोख्रेलले जानकारी दिनुभयो ।