INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड– १९ को सङ्क्रमण बढेसँगै जिल्लामा निषेधाज्ञा जारी

लुम्बिनी प्रदेशमा कोभिड सङ्क्रमण बढ्दै गइरहेको अवस्थामा बाँके, दाङ, बर्दिया लगायतका जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

बाँके जिल्लामा उपचारमा खटिएका स्वास्थयकर्मी र सफाईकर्मीहरू कोभिड सङक्रमित भएपछि  कोभिड सङ्क्रमितको उपचारमा जटिलता उत्पन्न भएकोछ । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजका गरी १ सय ७ जना स्वास्थ्यकर्मी र सफाईकर्मीहरू सङ्क्रमित भएका छन् ।

पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लामा वैशाख १७ गते राती १२ बजेबाट एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । वैशाख १५ गते बसेको जिल्ला डिसिसिएमसि को बैठकले वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताउनु भयो ।

जिल्लामा दोस्रो चरणको नयाँ भेरियन्ट सहित सङ्क्रमितको संख्या वृद्धि भएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको उहाँले बताउनु भयो । निषेधाज्ञासँगै  बैठकले अन्य निर्णयहरू पनि गरेको छ ।

निषेधाज्ञाको समयमा औषधि उपचार तथा अत्याश्यक काम बाहेक घर बाहिर निस्किन पाइने छैन ।  भिडभाड हुने खालको सम्पूर्ण गतिविधि सञ्चालनमा निषेध गर्ने निर्णय बैठकले गरेको छ ।

यसैगरी, एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामाग्री, तथा पशुपंक्षिका दाना, दुध फलफुल, तरकारी, मासु, पानी ग्यास, पोट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधन, औद्योगिक कच्चा पदार्थ बोकेका साधन, चिकित्सक तथा स्वस्थ्यकर्मीले ड्युटीमा जान आउन प्रयोग गर्ने सवारी, औषधि बोकेका सवारी, अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सवारी, प्रेस पास र परिचय पत्र बाहक सञ्चारकर्मीहरू बाहेकका निजि तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ ।

 अत्यावश्यक दैनिक उपभोग्य खाद्यसामाग्रीहरू बिहान ६ बजे देखि १० बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले बताउनु भयो ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार अस्पतालमा बेड नपाउँदा रामग्राम नगरपालिका–९ का ३५ वर्र्षीय कोभिड संक्रमित युवकको वैशाख १३ गते मृत्यु भएको छ ।

श्वास फेर्न गार्‍हो भएपछि उनलाई वैशाख १३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा नै सामान्य उपचार सुरू गरिएकोमा थप उपचारका लागि भैरहवाको भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्ने प्रयास गरेको तर बेड अभावले सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरूल होदाले बताउनु भयो ।

उनका बुवाको वैशाख ११ गते कोभिडका कारण घरमा मृत्यु भएको कोभिड फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो ।

अन्य

भिडियो