सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार पछिल्लो समय कोभिड–१९ का कारण दुईजना कोभिड सङ्क्रमितको मृत्यु भएको र सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यक जनशक्ति र औषधि तथा उपकरणको अभावमा उपचारमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
‘हिजोसम्म अस्पतालमा अक्सिजन सिलिण्डर समेत थिएन ।’-अस्पतालका कोभिड व्यवस्थापन फोकल पर्सन रिखाराम पुनले भन्नुभयो-‘आज मात्रै १० ओटा सिलिण्डरमा अक्सिजन भरिएको छ । यो अक्सिजन पनि धेरै दिन सम्म रहँदैन ।’
उहाँका अनुसार समयमा आपुर्ति नभए श्वासप्रश्वासको समस्या रहेका सङ्क्रमितहरूका लागि समस्या हुने छ । हालसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ५९ पुगेको छ ।
स्वास्थ्यकर्मीको अभावमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै आएपछि काम गर्न समस्या भइरहेको सल्यान अस्पतालका डाक्टर भिमकान्त जैशीको भनाइ छ ।
उहाँले भन्नुभयो-‘सङ्क्रमितको सङ्ख्या उच्च दरले बढी रहेकाले कर्मचारी अभावमा काम गर्न समस्या हुने देखिन्छ । अस्पतालमा आवश्यक औषधि उपकरणको समेत समस्या रहेकाले प्रभावकारी ढङ्गले काम गर्न समस्या छ ।’
अस्पतालमा जनशक्ति र औषधि उपकरणको अभाव भएपछि अधिकांश कोभिड सङ्क्रमितलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै घर पठाउने गरिएको डाक्टर जैशीले बताउनु भयो ।
सीमित बेड र सीमित कर्मचारी हुँदा अक्सिजनको कमी भएकालाई मात्रै अस्पतालमा राख्न सकिने स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार सङ्क्रमितको सङ्ख्या बृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले नागरिकता लगायतकासेवाहरू प्रवाह नगर्ने जनाएको छ ।
आपतकालिन सेवा र मुद्दाको थुनछेक जस्ता अत्यावश्यक कामहरू मात्र गरिने प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले जानकारी दिनुभयो ।
कोभिड पुष्टि भएका नारायण नगरपालिकाका ७५ वर्षीय ज्येष्ठ नागरिकको मृत्यु वैशाख १५ गते भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उनको मृत्यु भएपछि शतर्कताका लागि स्थानीय सरकार र प्रशासनले कडाई गर्न थालेको हो ।