सात वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दैलेख जिल्ला अदालतले ११ वर्षीय बालकलाई एक वर्ष बाल सुधारगृहमा राख्नुपर्ने र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
न्यायाधीश दण्डपाणी लामिछानेको वैशाख ८ गतेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कसूरदार बालक भएका कारण तत्काल तिर्न नसक्ने भएको अवस्थामा ‘नेपाल सरकारको पीडित राहत कोषबाट भराउनु’ भन्ने आदेश भएको श्रेस्तेदार कार्कीले बताउनुभयो ।
पीडित बालिकालाई आरोपित बालकले २०७६ मङ्सिर २३ गते बलात्कार गरेको भन्दै मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यही दिन दैलेख अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपित बालकलाई मङ्सिर २८ गते घरबाट नियन्त्रणमा लिई पुस २२ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेश गरिएको थियो ।
अभियोगका सम्बन्धमा त्यही दिन भएको थुनछेक बहसपछि बालकलाई अभिभावकको जिम्मामा छाडिएको थियो ।