जोरायल गाउँपालिकास्थित लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सो क्षेत्रका स्थानीयहरूले गुनासो गरेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेको भएपनि डाक्टर सहितका स्वास्थ्यकर्मीहरु नभएको कारण सो क्षेत्रका स्थानीयहरुले समस्या झेल्नु परेको हो ।
लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी रिक्त रहेको र कार्यालयमा रहेका कर्मचारीहरूसमेत नियमित रूपमा स्वास्थ्य चौकीमा नआउने गरेका कारण सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम दिपायल सिलगढी धाउनु परेको स्थानीय कृष्णराज जोशीले दुखेसो पोख्नु भयो ।
जोरायल गाउँपालिका–५ गडशेराका प्रकाश ओझाले प्राथमिक स्वास्थ्य चौकीमा डाक्टर नभएका कारण सामान्य उपचार गर्न समेत कच्ची बाटोमा चर्को भाडा तिरेर जिल्ला सदरमुकाम सिलगढी धाउनु परेको गुनासो गर्नु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार डाक्टरको व्यवस्था नगरिएका कारण आफूहरुले सेवा पाउन नसकेको स्थानीय कल्पना मडैले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीबाट पाउनु पर्ने सेवा नपाउदा स्थानीयले सास्ती भोगिरहनु परेको छ । स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल, डोटी, कैलाली जिल्लास्थित सेती प्रदेशिक अस्पताल, धनगढी, पदमा अस्पताल, अत्तरिया र उपक्षेत्रिय अस्पताल, डडेल्धुरा धाउनु पर्ने बाध्यता छ ।’
स्वास्थ्य चौकीमा डाक्टर दरबन्दी पुर्ति गर्नका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गर्दै अएकोे भएपनि समस्या समाधान हुन नसकेको गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख गोविन्द बिष्टले बताउनु भयो ।
भौगोलिक विकटताका कारण प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नै आउन नमानेपछि सर्वसाधारण जनतालाई समस्या भएको गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘हामिले प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरलाई खटाउनको लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालमा पत्राचार गरेका छौँ । तर, डाक्टर पठाउने आश्वासन पाए पनि समस्या समाधान भएको छैन् । समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको छ ।’