कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद साह, उनकी ३८ वर्षीया पत्नी सुनीता साह, १८ वर्षीया छोरी सुस्मिता साह र १६ वर्षीय छोरा रोहन साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको छ ।
पुनरावेदन अदालत राजविराजबाट जारी भएको परमादेश अनुसार हुलाक कार्यालयबाट ०७३ वैशाख १५ गते प्राप्त कथित बोक्सी आरोपको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर डिल्लीबहादुर चौहानले बताए ।
आरोपितहरूले कञ्चनरुप नपा-४ स्थित सार्वजनिक बाटोमा ०७२ चैत २१ गते कथित बोक्सी भन्दै गालीगलौज, कुटपिट गरेको आरोप लगाउँदै पीडितहरूले दिएको उजुरी प्रहरीले दर्ता नगरेपछि हुलाकबाट उजुरी पठाइएको बताए । चारैजना आरोपितहरू फरार रहेको प्रहरीले जनाएको छ ।