तीन वर्षघि ५० शैयामा स्तरवृद्धि भएको जिल्ला अस्पताल इलाममा स्तर वृद्धि सँगै निःशुल्क वितरण हुने औषधि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । २५ शैयाको अस्पताल हुँदा जिल्ला स्वास्थ्य कार्यालयमार्फत आएको औषधि यहाँ निःशुल्क वितरण हुन्थ्यो ।
५० शैया भएपछि अस्पतालले निःशुल्क औषधि वितरणको केन्द्र पनि बन्द गराएको छ । ‘२५ शैया हुञ्जेल निःशुल्क औषधि वितरण गर्यौँ । ‘माथि’बाट औषधि आउँथ्यो ।’-अस्पतालकी सूचना अधिकारी रीता अधिकारीले भनिन्-‘५० शैयामा स्तरवृद्धि भएपछि ‘माथि’बाट औषधि पनि आउँदैन, यहाँ औषधि खरिद गर्ने रकम पनि आउँदैन । निःशुल्क औषधि नहुँदा वितरणको काउण्टर बन्द गरेका छौं ।’
अस्पताल विकास समितिले औषधि किनेर दिएमात्र अब निःशुल्क औषधि वितरण गर्ने एउटा विकल्प रहेको अधिकारीको भनाइ छ । ज्येष्ठ नागरिक, अशक्तहरूलाई निःशुल्क औषधि दिन पाउँदा समस्या भएको अधिकारीले बताइन् ।
जिल्ला अस्पतालमा मात्र होइन, जिल्लाका सबैजसो स्वास्थ्य संस्थामा यतिबेला निःशुल्क वितरण गरिने औषधि अभाव छ । जिल्ला अस्पतालमा ७२, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीहरूमा ३६ प्रकारका औषधि निःशुल्क वितरणको व्यवस्था भएपछि अहिले ती स्वास्थ्य संस्थामासमेत सिटामोलसम्म पाउन मुस्किल छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विभागले वर्षेनी बजेट नै कम पठाउने गरेकाले निःशुल्क वितरणको औषधि अभाव हुन थालेको हो । यो वर्षजिल्ला जनस्वास्थ्य कार्यालयमा ४० लाख ८५ हजार ७ सय ८ रुपियाँ औषधि खरिदकालागि आएको थियो । उक्त रकमको औषधि खरिद गर्न अहिले टेण्डर प्रक्रिया पूरा भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अहिले इलाममा एक जिल्ला अस्पतालसहित दुई निजी अस्पताल, नगर स्वास्थ्य केन्द्र चार, सामुदायिक स्वास्थ्य इकाइ पाँच र स्वास्थ्य चौकी ४४ ओटा रहेका छन् । कार्यालयमा औषधि आउनासाथ यी स्वास्थ्य संस्थामा पठाइने कार्यालयका स्टोर किपर इश्वरी सुवेदीले बताए ।