INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधि सवार सरकारी गाडीमा आगजनी प्रयास

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्वरको सरकारी गाडी मङ्सिर १८ गते जलाउने प्रयास भएको उपप्रमुख उप्रेतीले बताउनु भएको छ ।

चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेको बेला मङ्सिर १८ गते दिउँसो ३ बजे पूर्व पश्चिम राजमार्गको धाइजन र चारआलीबीचको सडक खण्डमा बाटो छेकेर दुई जना युवाहरूले आगजनीको प्रयास गरेको उपप्रमुख उप्रेतीले बताउनु भयो ।

मोटरसाइकलमा सवार दुई जना युवाहरूले मङ्सिर १८ गते सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको बताउँदै गाडीको चक्कामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेको उप्रेतीले बताउनु भयो । उपप्रमुख उप्रेतीले आफूले युवाहरूलाई नचिनेको र मोटरसाइकल नम्वरसमेत याद नगरेको बताउनु भयो ।

पेट्रोल छर्किएर सलाई कोरेपछि गाडी तीव्र रूपमा हुइँक्याएर आफू अगाडि बढेको उपप्रमुख उप्रेतीले बताउनु भयो ।

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बुल्दीखोला पुलको उद्घाटनमा सरकारले अवरोध गरेको विरोधमा मङ्सिर १८ गते सरकारी गाडी सञ्चालनमा रोक लगाउने निर्णय नेपाल विद्यार्थी सङ्घले गरेको भन्दै आगजनीको प्रयास भएको उपप्रमुख उप्रेतीले बताउनु भयो ।

नेपाल विद्यार्थी सङ्घ झापा जिल्ला सभापति राजेन्द्र उप्रेतीले मङ्सिर १८ गते साँझ विज्ञप्ति जारी गर्दै उपप्रमुख सवार गाडीलाई रोक्ने क्रममा विवाद भएको तर आगजनीको प्रयास नभएको बताउनु भएको छ ।

विद्यार्थीहरूले सडकमा सरकारी गाडी केही समय रोक्दै छोडी दिने गरेकोमा उपप्रमुख उप्रेतीले विद्यार्थीको अनुरोधलाई बेवास्ता गरी गाडी ओभरटेक गरेपछि विवाद भएको तर आगजनीको प्रयास नभएको सभापति उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सञ्चारमाध्यममा उपप्रमुखलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको समाचारमा कुनै सत्यता नभएको नेपाल विद्यार्थी सङ्घ झापा जिल्ला कार्य समितिले विज्ञप्तिमार्फत् प्रष्ट पारेको छ ।

अन्य

भिडियो