जर्वुटा गाविस-४ की १४ वर्षीया बालिका लीला रोकायलाई हत्या गरेको घटनामा अदालतबाट कैद फैसला सुनाइएका फरार दोषी वीरेन्द्रनगर नपा-११ का २३ वर्षीय खगेन्द्र नेपाली पुस १३ गते अदालतको आदेशमा कारागार चलान भएका छन् ।
आरोपितले ०७१ वैशाख १५ गते बालिकालाई विष सेवन गराई हत्या गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले ०७२ जेठ १८ गते १९ वर्ष १० महिना २७ दिन कैद सजायको फैसला सुनाएको थियो ।
नेपालीलाई ०७३ पुस १२ गते वीरेन्द्रनगर नपा-११ स्थित आफ्नै घरबाट गिरफ्तार गरी ०७३ पुस १३ गते जिल्ला अदालत सुर्खेतमा बुझाएलगत्तै अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।
बालिकालाई विष सेवन गराई हत्या गरेको आरोपमा खगेन्द्र नेपालीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्ला अदालत सुर्खेतमा ०७२ जेठ १८ गते मुद्दा दायर गरेकोमा अदालतले सोही दिन कैद सजायको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सई ध्रुब बोहोराको कमाण्डमा खटिएको टोलीले घरैमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुरजङ्ग मल्लले जानकारी दिए ।