१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहलाई असोज १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर असोज १२ गते बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
स्थानीय अगुवाहरूले गाउँमै छलफल गर्दा उजुरी दिन ढिलो भएको पीडित बालिकाकी आमाले बताउनु भयो । घटनाको उजुरी असोज १७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको पीडितकी आमाले बताउनु भयो ।
बलात्कार घटना मिलाउन छलफलमा बसेको आरोपमा स्थानीय अगुवा विष्णुपुर गाउँपालिका–१ का ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्द साह, ४५ वर्षीय सत्रुधन साह, ४७ वर्षीय रामकुमार साह, ४८ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगविर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदि भनिने श्यामसुन्दर यादवलाई असोज १७ गते गिरफ्तार गरी ‘मतियार’मा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज १७ गते गरिएको छ ।