INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

नवराजपुर गाउँपालिका–५ की ४१ वर्षीया मुर्तिदेवी यादवलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरी अभक्ष कोच्याएको आरोपमा पीडित परिवारले सोही ठाउँका २५ वर्षीय कृष्णदेव यादव, २० वर्षीय ब्रहमदेव यादव, ५५ वर्षीय बैजनाथ यादव, ४५ वर्षीय देवनाथ यादव, ४९ वर्षीय धर्मनाथ यादव, २० वर्षीय सन्तोष यादव, २० वर्षीय महेश यादव र २१ वर्षीय पशुपती यादवविरुद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज ४ गते उजुरी दिनु भएको छ ।

‘भदौ २७ गते राति घरमा सुतेका थियौँ । मध्यरातमा  घरमा केही गाउँलेहरू उठाउन आए । ‘पञ्चेती’ बसेको छ हिँड भनी लगे । गाउँकै शिव मन्दिरमा १ सय जनाभन्दा बढी गाउँलेहरू जम्मा भएका थिए ।’–पीडित महिलाका पति रामनारायण यादवले भन्नु भयो–‘उनीहरूले स्थानीय धर्मनाथ यादवकी छोरी बिरामी छ । तिम्रो पत्नीले बोक्सी लगाएको हो । तिमीले जरिबाना तिर्नु पर्छ र सजाय भोग्नु पर्छ भन्दै केही व्यक्तिहरूले मेरी पत्नीलाई लछारपछार पार्दै कुटपिट गर्न थाले प्रतिकार गर्दा मलाई र छोरालाइ पनि कुटपिट गरे र हामीलाई समातेर आरोपितहरुले बोतलमा घोलेर राखेको अभक्ष कुटपिटका कारण बेहोस भएकी पत्नीलाइ कोच्याए ।’

बेहोस पत्नीलाई गाउँलेहरू गएपछि एम्बुलेन्समा राखी लहानस्थित कामना नर्सिङ् होममा उपचारको लागि ल्याए पनि थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा लगेको र हालसम्म पनि उपचारमै रहेकाले उजुरी दिन ढिला भएको रामनरायणले बताउनु भयो ।

आरोपितहरू फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिकराम शर्मा पैडेलले बताउनु भयो ।

अन्य

भिडियो