कोरोना भाइरसका कारण भएको लकडाउनमा चीनसँगका सिमा नाका बन्द भएपछि उपल्लो डोल्पामा खाद्यान्न संकट भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चीन हुँदै माथिल्लो डोल्पाका डोल्पोवुद्ध र शे–फोक्सुण्डो गाउँपालिकामा पठाउने खाद्यान्न सिमा नाका बन्द भएकाले ढुवानी हुन नसक्दा संकट चुलिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले अघिल्लो आर्थिक वर्षमा डोल्पोवुद्धका लागि तिब्बतको मोरिम र शे फोक्सुण्डोका लागि क्याटो नाकाबाट खाद्यान्न ढुवानी गरिदै आएको तर अहिले नाका बन्द भएकोले समस्या भएको बताउनुभयो ।
उपल्लो डोल्पाबाट सदरमुकाम दुनै पुग्नलाई मात्र करिब एक साता लाग्छ । पैदल ढुवानी गरेर खाद्यान्न पुर्याउँदा महँगो पर्ने र समय पनि धेरै लाग्ने भएकाले हेलिकप्टेर मार्फत खाद्यान्न ढुवानी गरी भोकमरीबाट उपल्लो वासिहरुलाई बचाउन प्रदेश सरकारलाई लिखित अनुरोध गरेको डोल्पोवुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङको भनाई छ ।
आर्थिक वर्ष २०७६/०७७ कै सहुलियत खाद्यान्न पाउन नसकेका उपल्लोवासीहरु यसवर्ष झन कोरोना संक्रमणका कारण बन्द भएपछि भोकमरीको अवस्था भएको अध्यक्ष गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो,–‘हामी कहाँ उत्पादन भएको आलु, उवा र जौ पनि सकियो अव त विहान बेलुकाको छाक टार्न पनि मुश्किल हुने थालेको छ । नागरिकलाई भोकबाट बचाउन सरकारले वैकल्पिक उपाय खोज्नु पर्छ ।’
उहाँका अनुसार सरकारले उपलब्ध गराउँदै आएको प्रति क्वीन्टल ५ हजार १ सयमा पाइने चामल हाल सदरमुकामबाट गाउँमा पुर्याउँदा करिब १५ हजार पर्न जान्छ ।
यस्तै क्षेत्रफलको हिसावले सबैभन्दा ठुलो गाउँपालिका शे–फोक्सुण्डो गाउँपालिका –८ का अध्यक्ष निमा लामाले करिब पाँच हजारको दैनिकी संकटमा परेको बताउनु भयो ।
आफूहरुले कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई तत्काल हेलिकप्टर मार्फत खाद्यान्न ढुवानी गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको र मन्त्रीले पनि आश्वासन दिएको लामाको भनाई छ ।