२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–७ का २४ वर्षीय दिनेशकुमार यादव र गोलबजार नपा–१० का २२ वर्षीय दिपेन्द्र मुखियालाई भदौ १९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितद्वय लगायत अन्य तीन जनाले युवतीलाई भदौ १३ गते सामूहिक बलात्कार गरेको र पीडितले डर, लाजले कसैलाइ पनि नबताएको कारण समयमा घटनाको जानकारी नभएको पीडितकी आमाले बताउनु भयो ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १९ गते उजुरी दिएको इन्सेक प्रतिनिधिलाई पीडित युवतीकी आमाले बताउनु भयो ।
घटनाको जानकारी हुनासाथ आरोपितहरूलाई गिरफ्तार गरेको र अन्य तीन जनाको पहिचान खुल्न बाँकी रहेकाले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १९ गते गरिएको छ ।
त्यसैगरी १९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले गोलबजार नपा–४ का ३२ वर्षीय रामसेवक महरालाई भदौ २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भदौ १८ गते बलात्कार प्रयास गरेको र घर परिवारबाट मिलाउने प्रयास गरेकाले उजुरी दिन ढिलो भए पनि भदौ २० गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिलाई भदौ २१ गते बताउनु भयो ।
आरोपित महरालाई गिरफ्तार गरी घटनाको अनसन्धानका लागि भदौ २१ गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २० गते गरिएको छ ।