कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तीन जना व्यक्तिलाई खाँदबारी नगरपालिका–७ स्थित हिमालयकिरण क्याम्पसमा बनाईएको आइलोलेशन सेण्टरमा राख्ने निर्णयपछि भदौ ४ गते राति अज्ञात पक्षले आइसोलेशन सेण्टरमा तोडफोड गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तीन व्यक्ति भदौ २ गतेदेखि आइसोलेशन सेण्टर नहुँदा अलपत्र परेका थिए । क्याम्पस प्रशासनसँग कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले अनुमति लिई आईसोलेशन निर्माण पुरा गरी कोरोना सङ्क्रमितलाई भदौ ४ गतेदेखि राख्ने निर्णय गरेको थियो ।
सो निर्णय लगत्तै अज्ञात पक्षले आइसोलेशन सेण्टरमा तोडफोड गरेको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.श्यामसुन्दर झाले बताउनुभयो ।
तोडफोडबाट अक्सिजन मशिन, सक्शन मशिन, ७० पीस पीपीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाइडर लगायतका सामाग्रीमा क्षति पुगेको मेडिकल सुपरीटेन्डेण्ट डा. झाले बताउनु भयो । तोडफोडपछि केही स्वास्थ्य सामाग्री हराएको र १५ लाख रुपियाँ बराबरको क्षति भएको अस्पताल प्रशासनले जनाएको छ ।
आईसोलेशन सेण्टर तोडफोड गर्नेको पहिचान हुन नसकेको र कोही कसैलाई गिरफ्तार नगरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमितका लागि हिमालयकिरण क्याम्पसमा आइसोलेशन सेण्टर बनाउने निर्णय भएपछि स्थानीयले विरोध गर्दै भदौ ४ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।
आईसोलेशन सेण्टर तोडफोड भएपनि तत्काललाई मर्मत गरी तीन जना सङ्क्रमितलाई त्यही भदौ ४ गते रातिदेखि त्यही राखिएको जिल्ला अस्पतालका प्रशासन प्रमुख दीपेश श्रेष्ठले जानकारी दिनु भएको छ ।



