INSEC Online

📅 २०८३ जेष्ठ २१

मुख्य नाकामा हेल्थ डेस्कसहित जिल्ला अस्पतालमा आइसोलेसन कक्षको स्थापना

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट हुने जोखिम नियन्त्रणका लागि जिल्ला अस्पताल खाँदबारीमा चैत ५ गते आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

जिल्ला अस्पतालमा पाँच शैयाको आइसोलेसन कक्ष तयार गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले बताउनु भयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाक्यले केही दिनमा पाँच शैयाबाट थप गरेर सात शैयाको वार्ड बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

सङ्खुवासभा छिमेकी चीनसँग सिमाना जोडिएको र कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भएका कारण पूर्व तयारी गरेको अध्यक्ष शाक्यको भनाइ छ ।

कोरोनाको परीक्षण गर्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री खरिद समेत गर्न स्वास्थ्य सेवा विभाग र सामाजिक विकास मन्त्रालयलाई माग गरेको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोनाबारे जनचेतना दिन सबै नगर तथा गाउँपालिकामा प्रचारप्रसार र निर्देशन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाहृकोटीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल खाँदबारीमा आउने बिरामी तथा कुरूवाहरूले साबुन पानीले हात धोएपछि मात्र प्रवेश पाउने ब्यवस्था गरिएको छ ।

कोरोना भाइरस बाट बच्न अस्पतालले मुल गेट छेउमा हात धुने ब्यवस्था मिलाइएको छ । जिल्लाका विभिन्न तीन स्थानमा हेल्प डेक्स समेत स्थापना गरिएको छ । सङ्खुवासभा भित्रिने मुख्य नाका सभाखोला,तुम्लिङटार विमान स्थलमा र धर्मदेवीको नगरपालिकाको टुटे देऊरालीमा स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स राखिएको जिल्ला अस्पतालले जनाएको छ ।

Photo20200319Sangkhuwasabha

अन्य

भिडियो