तत्कालीन विद्रोही नेकपा माओवादीले द्वन्द्वकालमा क्षति पुर्याइएका (भत्काएर, जलाएर, बम विस्फोट गरेर) गाविस भवन पुनर्निर्माण नहुँदा बैतडीका १५ गाविसका स्थानीय नागरिक मर्कामा परेका छन् ।
जिल्लामा रहेका ५६ ओटा गाविस र दुई नगरपालिकामध्ये १५ ओटा गविस भवन अझै सम्म पनि पुनर्निर्माण गरिएको छैन । तत्कालीन विद्रोही र सरकारबिच भएको सहमति अनुसार द्वन्द्व समाप्त भएको १० वर्षबितिसक्दा समेत अझै गाविसको सहज सेवाबाट स्थानीय नागरिक वञ्चित हुनुपरेको रौलेश्वर गाविसका स्थानीय दिनेशप्रशाद भट्टले गुनासो गरे ।
गाविसको आफ्नो भवन नहुँदा ती गाविसका सचिवहरू सदरमुकाममा बस्दै आएका छन् । ‘गाविसमा हुने सानो कामका लागि पनि दुई दिनको पैदल यात्रा गरेर सदरमुकाम पुग्नु पर्छ ।’- सिगास गाविसका धनबहादुर बोहराले भने ।
५६ ओटा गाविसमध्ये माहारुद्र, ग्वाल्लेक, माहाकाली, रुद्रेश्वर, कोट्पेटरा, महादेवस्थान, तल्लादेही, चौखाम, रौलेश्वर, शङ्करपुर, सिखरपुर, गाँजरी, सिगास र सिद्देश्वरलगायतका गाविस भवन नभएको जिल्ला प्राविधिक कार्यालयका नायब सुब्बा डम्बरदत्त पाण्डेयले बताए ।
‘द्वन्द्वकालमा जलाइएका अधिकांश गाविसमध्ये केही गाविसहरू शान्ति तथा पुनर्निर्माण मन्त्रालयले निर्माण गरेको र केही गाविसहरूले आफ्नै बजेटबाट सामान्य भवन मर्मत गरेका छन् ।’-जिल्ला विकास समितीका वरिष्ठ समाजिक परिचालक गणेशदत्त अवस्थीले भने ।
गाविस भवन नहुँदा सचिवहरूले झोलामा गाविसका कागजात र छाप बोकी हिँड्ने गरेका छन् । गाविस भवन नहुँदा स्थानीय स्तरमा बसेर सेवा दिन मुस्किल पर्ने गरेको गाविस सचिव अम्बादत्त बोगटीको भनाइ छ ।
“सङ्घीयताको बहस चलाउने सरकारले द्वन्द्व समाप्त भएको १० वर्षसम्म पनि गाविस भवन नबनाएर जनताको दुख हेरिरहेको छ । जनतालाई दुख दिइरहेको छ ।’-चौखाम गाविसका पदम बोहराले भने ।
अन्य ४१ गाविसहरुमध्ये पनि अधिकांश गाविस भवनहरू सेवा दिन लायक नभएको प्राविधिक कार्यालयले जनाएको छ ।