INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयभित्र परीक्षा, बाहिर भोजभतेर

औरही नगरपालिकास्थित एक विद्यालयको कक्षा कोठामा फागुन ३० गते वार्षिक परीक्षा सञ्चालन भइरहेको थियो भने विद्यालय बाहिर प्राङ्गणमा विहेको भोजभतेर भइरहेको देखिएको थियो ।

दिउँसो औरही नपा–८ मा स्थित सोनामाई आधारभुत विद्यालय टिम्कियाका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीहरुले कक्षा कोठाभित्र पहिलो दिनको परीक्षा दिइरहेको समयमा बाहिर विद्यालयको चौरमा विहेको भोजको आयोजना गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम यादवले आफ्नो छोराको बिहे भोज गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको स्थानीय रामआश्रय यादवले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयलाई नीजिकरण गरेकोले अव विद्यालयमा सुधारको अत्यन्त आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

वार्षिक परीक्षा संचालन भइरहेको समयमा विद्यालयमा भोज भतेर गरिनु भनेको सरासर अनुचित भएको भन्दै स्थानीय युवा धर्वेन्द्रकुमार यादवले विरोध गर्दा उनको घर परिवारबाट दबाब दिन लगाएको थियो । यादवले भन्नु भयो,–‘विद्यालयमा साना नानीबाबुहरुले परीक्षा दिइरहेको समयमा नै बाहिर भोज भतेर हुँदा उनिहरु साना केटाकेटी भएको हुँदा भोजतिर ध्यान जानु स्वभाविक हो, जसले गर्दा उनिहरुको परीक्षा बिग्रिन्छ ।’ उहाँले यसको विरोध गर्दा व्यवस्थापन समितिले आफ्नो घर परिवारमा गएर धम्की दिएको बताउनु हुँदै गलतलाई गलत भन्दा दवाव झेल्नु परेको बताउनु भयो ।

यस सम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले आफुहरुलाई पनि यस सम्बन्धी जानकारी भएपछि तत्कालै हटाउन लगाएको बताउनु भयो । उहाँले विद्यालयका प्रधानाध्यापक सरिता कुमारी यादवलाई विद्यालयमा विद्यालय चलिरहेको समयमा यस्ता गतिविधि नगर्न र नगराउन निर्देशन दिइसकेको बताउनु भयो ।

यस सम्बन्धमा जानकारी आउने वितिकै आफुले सो विद्यालयका प्रधानाध्यापक सरिताकुमारी यादवसँग लिखित रुपमा स्पष्टिकरण माग गरेको औरही नगरपालिकाका शिक्षा शाखा संयोजक राईले बताउनु भयो । वर्षाले गर्दा सडक अवरुद्ध भएकोले चैत १ गतेसम्म चितबुझ्दो जवाफ प्रधानाध्यापक यादवले स्पष्टिकरण पेश नगरे कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने संयोजक राईले बताउनु भयो ।

यस सम्बन्धमा जिल्ला समन्वय ईकाई कार्यालय महोत्तरीका प्रमुख शत्रुध्नप्रसाद यादवले विद्यालयभित्र परीक्षा संचालन भइरहेको समयमा बाहिर स्थानियहरुले भोजभतेर गरेर विद्यार्थीको भविष्य उपर नै खेलवाड गरेको आरोप लगाउनु भएको छ ।

समुदायको सम्पत्ति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानियले नै उचित भुमिका निर्वाह गर्नुपर्ने प्रमुख यादवको भनाई रहेको छ । विद्यालयले कुन रुपमा अनुमति दिएको हो यस सम्बन्धमा आफुले बुझ्ने प्रयासमा रहेको प्रमुख यादवले प्रतिक्रिया दिनु भयो । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ५ गतेभित्र परीक्षा सक्न दिएको निर्देशन अनुसार महोत्तरीमा फागुन २९ गतेबाट परीक्षा सुरु भएको हो ।

अन्य

भिडियो