बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीको प्रजा आधारभुत विद्यालयका चेपाङ बालबालिका भोकै विद्यालय जाने गरेका छन् ।
कक्षा दुईमा अध्ययनरत सेविका चेपाङ सात वर्षको हुनुभयो । घरमा खानेकुरा नभएकोले उहाँ बिहान खाना नखाइ विद्यालय जानुहुन्छ । जब विद्यालय पुग्नुहुन्छ, यताउता हेरीरहुहुन्छ । कहिलेकाहीँ मात्र बिहानको खाना खाएर आउने भएकोले धेरैजसो भोकै आएपछि खाजा बनाउने ठाउँतिर उहाँका आँखा डुलिरहन्छन् ।
कक्षा दुईमा अध्ययनरत अनिशा चेपाङ पनि भोको पेट र खाली खुट्टा विद्यालय जानुहुन्छ । उहाँको विद्यालय पोशाक पनि छैन । आमा बुबा ज्याला गर्न जान्छन् । बिहान निस्कने आमा बुबाले बेलुका घरमा खानेकुरा ल्याउँदा मात्रै उनीहरूले खाना खान पाउँछन् अन्यथा बेलुका पानी खाएर भोकै बस्नु उनीहरूको बाध्यता हो ।
कक्षा चारमा पढ्ने १० वर्षीय सुजन चेपाङ पुरानो कपडा लगाएर विद्यालय जानुहुन्छ । खाना खाने त कहिले काँही बेलुका मात्र हो । कक्षा चारमा पढ्ने सन्तोष चेपाङको हालत पनि उस्तै छ । खानेकुरा घरमा छैन । विद्यालयको खाजाका लागि आउने गरेको उहाँले बताउनु भयो ।
कक्षा चारमा पढ्ने भएपनि उनीहरू ज्याला गर्न जान सक्ने कहलिन्छन् । ज्याला गर्न नपाएको दिन विद्यालय आउने विद्यार्थीको सङ्ख्या पनि बढ्ने विद्यालयका प्रध्यानाध्यापक अप्सरा मैनालीले बनाउनु भयो । ज्याला गर्नु उनीहरूको बाध्यता र पेट पाल्ने आधारको भएको मैनालीले बताउनु भयो।
उनीहरु प्रतिनिधि मात्र हुन् । प्रजा आधारभुत विद्यालयमा पढ्ने १ सय १० विद्यार्थीमध्ये २५ जना विद्यार्थी हरेक दिन विद्यालयको खाजा खान पाइन्छ भनेर आउने गरेका छन् भने ७५ जना विद्यार्थी खाली खुट्टामा र विद्यालय पोशाक नलगाई विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक मैनालीले जानकारी दिनुभयो ।