INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलामाथि लाठि प्रहार गर्ने इन्सपेक्टरलाई छानविन गर्न समिति गठन

३३ वर्षीया हेमा श्रेष्ठलाई लाठि प्रहार गरेको आरोपमा प्रहरी इन्सपेक्टरमाथि छानविन गर्न समिति गठन गरिएको छ ।

शंखुवासभा जिल्ला पाँचखपन नगरपालिका–९, जलजला घर भइ काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने श्रेष्ठलले १० महिनाको बच्चा पिठ्युँमा च्यापेर हिँडिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग बुंगमती, भैसपाटीका इन्सपेक्टर देवीप्रसाद पौडेलले ०७६ फागुन १५ गते दिउँसो दुर्व्यहार गरेका हुन । महिलामाथि दुर्व्यहार गरेको आरोपमा महानगरीय प्रहरी परिसरका एसपी दुर्गा सिंहको संयोजकत्वमा छानविन समिति गठन गरिएको परिसरका एसएसपी टेकप्रसाद राईले बताउनुभयो ।

पीडित श्रेष्ठ ललितपुर महानगरपालिका–२५, भैँसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको घरमा गएर अभद्र व्यवहार तथा हुल उज्जत गरेको आरोपमा प्रहरीले लाठी प्रहार गरेको इन्सपेक्टर पौडेलले बताउनुभयो । ‘महिलाको हुल घरभित्र छिरेर तोडफोड गर्न थालेपछि त्यहाँबाट हटाउन खोज्दा स्थिति त्यस्तो बनेको हो’, इन्सपेक्टर पौडेलले भन्नुभयो । पीडित श्रेष्ठको स्वास्थ्य उपचार फागुन १५ गते नै ग्रिनसिटी अस्पताल, काठमाडौँमा गरिएको अस्पतालले जनाएको छ । पीडितले यातना दिने इन्सपेक्टर पौडेल बिरुद्ध फागुन १८ गतेसम्म कतै उजुरी नगरेको तर इन्सेक ललितपुर जिल्ला प्रतिनिधिलाई न्यायको लागि पहल गरिदिन निवेदन दिनु भएको छ ।

एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घरमा छलफल गर्न जान आग्रह गरेको श्रेष्ठले बताउनुभयो ।  भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर हल्ला गरिरहेका महिलामाथि हातपातमा उत्रिएको भिडियो सार्वजनिक भएको थियो । सामान्यतया महिलालाई नियन्त्रणमा लिन महिला प्रहरी नै परिचालन गर्नुपर्ने कानुनी व्यवस्था रहेको ललितपुर बार एशोसिएसनका अध्यक्ष अर्जुन महर्जनले बताउनु भयो । प्रहरीका अनुसार ०७६ कात्तिक २७ गते भैँसेपाटीमा तीन जना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी दर्ता भएको थियो । कात्तिक २८ गते प्रहरी सम्पर्कमा आएकी महिलाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएको महानगरीय प्रहरी परिसर जावलाखेलको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख इन्सपेक्टर वीरेन्द्र पनेरुले बताउनुभयो ।

यसैबीच हेम खत्रीको घर भित्र अनाधिकृत रुपमा प्रवेश गरी घर कम्पाउण्ड तथा कोठा भित्र रहेको टेवुल, गमलालगायतको धनमालहरू तोडफोड गरेको आरोपमा चारजना महिलालाई प्रहरीले ललितपुर–२५ बाट गिरफ्तार गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–८ की २५ वर्षीया गोमा के.सी, बारा जिल्ला निजगढ नगरपालिका घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने ४० वर्षीया माला साह, काठमाडौँ महानगरपालिका–८ की ४५ वर्षीया रुपा घिसिङ्ग र ललितपुर महानगरपालिका– २५ भैसेपाटी की ३५ वर्षीया शोभा खड्कालाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर जावलाखेलका सहायक प्रवक्ता डिएसपी सन्तोष तामाङले बताउनुभयो ।

अन्य

भिडियो