आर्थिक अभावका कारण परिचयपत्र बनाउन महिला तथा बालबालिका कार्यालय जान नसकिरहेका जिल्लाको सित्तड गाविस-२ सलेनाका ५५ वर्षीय कालुराम भुललाई इन्सेकले आर्थिक सहयोग गरी सम्बन्धित ठाँउमा पुर्याउन मद्दत गरेको छ ।

गाडी भाडा र बाटोको खाना खर्च नभएका कारण अपाङ्गता परिचयपत्र बनाउनबाट वञ्चित सलेनाका भुललाई मङ्सिर २२ गते इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले एक हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेका हुन् ।
भारतमा मजदुरी गर्ने कालुरामको चार वर्ष अगाडि प्यारालाइसिसका कारण हातगोडा चल्न छाडेपछि उनी घरैमा कुँजिएर बसेका थिए ।
कालुरामका भतिजा मोहनरामले काकालाई परिचयपत्रका लागि पहल गरिदिन भनि इन्सेकसँग मौखिक आग्रह गरेपछि सहयोग गरिएको जिल्ला प्रतिनिधि नरी बडुले जानकारी दिए ।
इन्सेकको पहलमा कालुरामको परिचयपत्रका लागि महिला तथा बालबालिका कार्यालय पाटन, बैतडीका सूचना अधिकारी र कार्यालय प्रमुखसँग पनि छलफल भएको छ ।
महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐरले पुसको पहिलो साता बस्ने समितिको बैठकमा कालुरामको कुरालाई राखी परिचयपत्र प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।