INSEC Online

📅 २०८३ जेष्ठ २१

चीनमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न आयोगद्वारा सरकारलाई निर्देशन

छिमेकी राष्ट्र चीनको हुवेई प्रान्तमा रहेका करिब १ सय ८५ जना नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

दुई हप्तादेखि चीनमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट त्यहाँ बस्दै आएका नेपालीहरुको शीघ्र जीवन रक्षा गरिदिन माग गर्दै उनीहरूका अविभावकहरूद्वारा आयोग समक्ष पेश गरिएको ज्ञापन–पत्र एवम् नेपाली नागरिकको जीवन रक्षाको सम्बन्धमा आयोग यस्तो निर्देशन दिएको आयोगद्वारा ०७६ माघ २६ गते जारी विज्ञप्तीमा उल्लेख छ ।

चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकहरू नोबेल कोरोना भाइरसको कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको र लामो समयसम्म निवास भित्रै बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको विज्ञप्तिमा उल्लेख छ । जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू संक्रमणको जोखिममा रहेको आयोगले जनाएको छ । आयोगको माघ २६ गते बसेको आकस्मिक बैठकले नेपाल सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका सचिव एवम् प्रवक्त वेद भट्टराईले बताउनुभयो । उक्त प्रान्तमा रहेका सबै नेपाली नागरिकहरूको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूले गरेको काम कारबाहीको सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको आयोगका सचिव एवम् प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आयोगले चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गरेको छ ।

अन्य

भिडियो