INSEC Online

📅 २०८३ जेष्ठ २१

ग्रामिण क्षेत्रमा फैलिएको सिजनल फ्लुका कारण सात जनाको मृत्यु

सिजनल फ्लुका कारण चंखेली गाउँपालिका, सर्केगार्ड गाउँपालिका र खापुनाथ गाउँपालिकामा सात जनाको मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

चंखेली गाउँपालिका–६ को मासिधारा गाउँमा फैलिएको सिजनल फ्लुका कारण ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीया गोरी सार्की र ६० वर्षीया प्याउरी शाहीले ज्यान गुमाएका छन् ।

यसैगरी सर्केगार्ड गाउँपालिका–३ उनापानीका ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ गाउँपालिका–३ राया गाउँकी ३५ वर्षीय चन्दा बुढाले पनि ज्यान गुमाएको स्थानीयबासीले बताएका छन् ।

मासिधारा गाउँमा उक्त रोग पुस २६ गतेदेखि फैलिएको थियो । यो रोगबाट बृद्धबृद्धा र बालबालिका बढी प्रभावित भएका छन् ।

जिल्लाका विभिन्न स्थानमा फैलिएपनि यसको पहिचान सिजनल फ्लु भनिएको छ । स्वास्थ्य संस्थामा प्रयाप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहँुदा जिल्लाका स्थानीयबासी अकालमै ज्यान गुमाउने गरेका छन् ।

चिसो बढेपछि सर्केगार्ड गाउँपालिका–३ उनापानीमा रहेका ३ सय घरधुरीमा करिब २ सय ५० जना मानिस बिरामी भएका छन् । गत पुस महिनादेखि रुघाखोकी, ज्वरोले गाउँभरी बिरामी भएको सर्केगार्ड गाउँपालिका–३ की हस्ता फडेराले जानकारी दिनु भएको छ । स्वास्थ्य चौकीमा औषधि छैन् बिरामीले गाउँनै थला परेको फडेराले बताउनु भयो ।

रोगका लक्षणहरू के के हुन
हिमपातले अत्याधिक चिसो बढेपछि जिल्लाका विभिन्न स्थानहरूमा सिजनल फ्लु फैलिएको छ । गाउँघरमा दम रोगका बिरामीहरूलाई बढी समस्या हुने गरेको छ । यसको लक्षण कसैलाई ज्वरो आउने, कसैलाई रुघाखोकी लाग्ने, नाकबाट पातलो सिगान बग्ने, शरीरका हडडीहरू दुख्ने लक्षण रहेको छ । यस्तै लक्षण भएर बिरामी भई चंखेली गाउँपालिका–६ को मासिधारा गाउँबाट पाँच जनाले ज्यान गुमाएको स्थानीय हिराबहादुर शाहीले बताए । गाउँभरी बिरामी नभएको घर भेटन मुस्किलै रहेको शाहीले भने ।

गत वर्ष ताजाकोट गाउँपालिकामा रुघाखोकीको उपचार नपाएर नौ जनाले ज्यान गुमाउनु परेको थियो । तर पछि स्वास्थ्यकर्मी र औषधि ताजाकोटमा एक हप्तापछि पुगेपछि अन्य बिरामीको ज्यान जोगिएको थियो । यसरी नै सम्बन्धित सरोकारवाला निकायले समयमै चासो नदिने हो भने यो रोग महामारीका रुपमा फैलिने सम्भावना देखिएको छ ।

पुस १५ गतेदेखि ग्रामिण बस्तीमा यो रोगले गाउँ नै थला पारेपनि सम्बन्धित निकायले चासो देखाएको पाइदैन् । स्वास्थ्यकर्मीहरूले नै यो रोग सिजनल फ्लु भएको बताउने गरेका छन् ।

गाउँभरी रुघाखोकीका बिरामीहरूले महिनौ दिनसम्म थला परेका छन् । तर चंखेली गाउँपालिकामा स्वास्थ्य शाखाका संयोजक समेत गाउँपालिकामा बसेका छैनन्् । स्वास्थ्य संयोजक कालिबहादुर बुढाले औषधि र स्वास्थ्यकर्मीको अभाव नभएको दाबी गरेका छन् । गाउँका स्थानीयबासीहरूले भने स्वास्थ्य संस्थामा औषधि नभएको दुखेसो गरेका छन् । स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या देखिएको छ ।

किन वर्षेनी फैलिन्छ सिजनल फ्लु
प्रत्येक वर्ष हुम्ला जिल्लामा सिजनल फ्लु फैलिने गरेको छ । गत वर्ष सर्केगार्ड गाउँपालिकाको ७ र ८ नम्बर र ताजाकोट गाउँपालिकामा ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, छाती दुख्ने लक्षणका कारण नौ जनाले ज्यान गुमाएका थिए । प्रत्येक वर्ष जिल्लामा किन फैलिन्छ यो सिजनल फ्लु जिल्लामा प्रश्न उठने गरेको छ । अहिले हुम्लाको गाउँघरमा यो फ्लु फैलिएको छ । तर सम्बन्धित निकायाले चासो दिएको पाइदैन् ।

स्वास्थ्यकर्मी भन्छन्

जिल्ला अस्पताल हुम्लाका डाक्टर नविन रोकाया भन्छन् “यो सिजनल फ्लु हो । खोकी लाग्ने, ज्वरो आउने, नाकबाट पातलो सिगान बग्ने, हडडी दुख्ने यो रोगको समस्या भएको बताए ।” दैनिक जिल्ला अस्पताल हुम्लामा ४० देखि ५० जना मध्ये सात÷आठ जना सिजनल् फ्लुका बिरामी आउने गरेको डाक्टर रोकायाको भनाई छ । यो सिजनल फ्लुबाट दम रोगका बिरामीलाई बढी समस्या हुने गरेको डाक्टर रोकाया बताउनु हुन्छ ।
जिल्लामा यस्तो रोग फैलिएपछि प्रदेश सरकारले दुई जना स्वास्थ्यकर्मी पठाएपनि हालसम्म सो व्यक्तिहरु रोग ग्रस्त क्षेत्रमा नपुगेको स्थानीयबासीको गुनासो छ ।

 

अन्य

भिडियो