२०७२ साल बैशाख १२ गतेको भूकम्पले विद्यालय भवन जिर्ण बन्दा चुमनुव्री गाउँपालिका–३ को बुद्ध मावि सिर्दिवासका शिक्षक विद्यार्थी समस्यामा परेका छन् ।
२०६३ मा ढुङ्गाको छाना राखेर बनाइएको विद्यालय भवनको बाहिरी रुप राम्रो देखिएपनि पानी चुहिने समस्या थपिएको विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरेले बताउनुभयो । ढुङ्गाको छाना भएको ६ ब्लकमा कक्षा संचालन भएको छ ।
‘जाडो याममा ढुङ्गाको छाना मुनी बस्न न्यानो त हुन्छ,’ विद्यालयका प्रअ घिमिरेले भन्नुभयो–‘भूकम्पले छानाको ढुङ्गा यता र उता बनाइ दिएपछि बर्खामा पानी चुहिने समस्या थपियो ।’
अहिले भौतिक संरचनाको अवस्था नाजुक बनेको उनले बताए । विद्यालय मर्मत गर्नै एक करोड लाग्ने उहाँले बताए । विद्यालय भवनको केहि भागको गारो पनि चर्किएको छ ।
भूकम्पले भत्काएका गोरखाका अधिकाशं विद्यालयका भवन बनिसकेको छ । तर बुद्ध मावि सिर्दिवासको भवन निर्माणको जिम्मा भने कसैले नलिएको घिमिरेले बताए ।
‘अरु विद्यालय सविधा सम्पन्न बनिसकेका छन्, तर हाम्रोमा लाइब्रेरी र प्रयोगशाला सम्म छैन,’ उनले भने । झ्यालमा ग्रिल नहुँदा महत्वपुर्ण सामग्रीको सुरक्षामा चुनौती देखिएको घिमिरे बताउछन् ।
‘६०–७० वटा कम्प्यूटर छन्, जोगाउनै गाह्रो छ,’ उनले भने ।
सुरुमा भारतीय दुतावासले बुद्ध मावि सहित १० विद्यालयको भवन निर्माणको जिम्मा लिएको थियो तर अन्तिम समयमा आएर भारतीय दुतावासले बुद्घ मा वि को भवन निर्माण नगर्ने भएपछि समस्या थपिएको हो ।
चुमनुव्री सडक सञ्जालले नजोडिएको ठाउँ भएको र निर्माण सामाग्री ढुवानीका लागी खच्चडकै भर पर्नुपर्ने बाध्यत रहेकाले असजिलो हुने देखेर कुनै पनि संघ संस्थाले भवन निर्माणको जिम्मा नलिएको अभिभावको गुनासो छ ।
विद्यालय बनाइदिन दातृ निकाय र भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) समक्ष माग पनि गरिएको उनले बताए ।
उक्त विद्यालय भवन निर्माणका लागी दातृ निकाय सँग छलफल गरिरहेको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का प्रमूख विष्णु प्रसाद मिश्रले बताए । जाइकालाई भवन बनाइदिन प्रस्ताव गरेको उनको भनाइ छ ।
बुद्ध मावि मा ३ सय ९७ विद्यार्थी छन् । ती मध्ये एक सय ८९ विद्यार्थीले हिमाली छात्रवृद्घिको कोटामा अध्ययन गर्दै आएका छन् ।