INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकार संरक्षणमा सरोकारवालासँग सहकार्यको जरूरी

राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय निर्देशक झन्कर रावलले नागरिकको मानव अधिकार रक्षाका लागि आयोगले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । चौथो मानव अधिकार अन्तर्राष्ट्रिय महोत्सवको मङ्सिर १८ गते इलाममा उद्घाटन गर्दै रावलले आफ्ना अधिकारबाट वञ्चित भएका सबै नागरिकहरूको अधिकार रक्षाका लागि अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी, सङ्घसंस्था, राज्यका निकाय सबैसँग एक-आपसको सहकार्य जरूरी रहेको बताए  ।

मानव अधिकारको संरक्षणका लागि मानव अधिकारसम्बन्धी चलचित्र पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै निर्देशक रावलले यस्ता चलचित्रहरू गाउँ-गाउँमा लगेर देखाउन सक्दा मानव अधिकार रक्षाका लागि धेरै सचेतना प्रदान गर्न सकिने धारणा राखे ।

चलचित्रमा घर-घरमा भएका घटनालाई कसरी चलचित्रमा उतार्न र त्यसप्रति नागरिक तथा सरोकारवाला निकायलाई सचेत गराउन सकिन्छ भन्ने विषय समेटिएको जनाइएको छ । चलचित्र महोत्सवमा ‘टासी एण्ड मन्क, ब्रिक प्याक्ट्री, द मिरर र कमारो ‘ नामक चारओटा चलचित्र देखाइएका छन् । युएनडिपीको सहयोग र मानव अधिकार आयोगको सहकार्यमा शुरू गरिएको चलचित्र महोत्सव इलाम पछि जनकपुर, नेपालगञ्ज हुँदै मङ्सिर २६ गते जुम्लामा पुगेर समापन गरिने चलचित्र प्रदर्शन समूहका सरोज सापकोटाले जानकारी दिए ।

अन्य

भिडियो