१० वर्ष अघि बर्दिया राष्ट्रिय निकुञ्ज भित्र काउलो सङ्कलन गर्न जाँदा निकुञ्जका सेनाको गस्तीद्वारा बाँसपानी हत्या घट्नाका मारिएका आफन्तहरुले हालसम्म न्याय तथा क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् ।
वीरेन्द्रनगर आएका मृतकका आफन्तहरूले यसका लागि पहल गरिदिन इन्सेक लगायतका सङ्घसंस्थाहरुलाई अनुरोध गर्दै आएका छन् ।
घट्नापछि मृतकका आफन्त र बर्दिया राष्ट्रिय निकुञ्ज बीच भएको सहमति तथा घटनाका बारेमा गठित संसदीय समितिहरूले गरेको सिफारिस अनुरुप न्याय तथा क्षतिपुर्ति नपाएको सो घटनामा मारिएका अमृता बिकका पति रत्नबहादुर सुनारले बताउनु भयो ।
२०६६ फागुन २६ गते भएको सो घटनामा साविक हरिहरपुर गाविस–३ श्रीचौरका १३ वर्षीया चन्द्रकला बिक, २५ वर्षीया देवीसरा बिक र २९ वर्षीया अमृता बिक मारिएका थिए । चन्द्रकला र देवीसरा आमा छोरी हुन् ।
संसदीय समितिले मृतकका परिवारहरूलाई जनही १० लाख रुपियाँ क्षतिपुर्ति सहित हत्यामा संलग्न सेनालाई कारवाही गर्ने तथा निकुञ्जले समितिले सिफारिस गरेको क्षतिपुर्ति उपलब्ध गराउन पहल गर्ने र मृतकका छोराछोरीहरुलाई रोजगारीको व्यवस्था गर्ने सहमति गरेपनि यसतर्फ निकुञ्जले कुनै चासो नदिएको सुनारले जानकारी दिनु भयो । मृतकका परिवारले हाल सम्म २५ हजार रुपियाँका दरले क्रिया खर्च बाहेक कुनै रकम पाएका छैनन् ।
सो घटनाका सम्बन्धमा इन्सेक र एडभोकेसी फोरमले तत्काल स्थलगत अनुगमन गर्नुको साथै घटनाको बारेमा अनुगमन प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।
आर्थिक अभावले जकडिएका श्रीचौरका कृषकहरूले बर्सेनी सिमावर्ती क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज भित्र काउलो (एक प्रकारको जडिबुटी) सङ्कलन गर्दै आएका थिए ।