INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्ष माथि कुटपिट तथा तोडफोड, आरोपितविरूद्ध प्रहरीमा उजुरी

हरिवन नपा–११ का वडा अध्यक्ष शेष मेहबुब रेजालाई कुटपिट हुनुका साथै नगरपालिकामा तोडफोड समेत गरिएको छ ।

३३ वर्षीय तसिन रेजा ठेकेदारले हरिवन नगरपालिका कार्यालयको इन्जिनियर जक्कीको कार्यकक्षमा आएर ठुलोठुलो स्वरमा गालीगलोज गरेको हरिवन नपा–८ का वडा अध्यक्ष यज्ञविनोद ढुङ्गेलले जानकारी दिनु भयो ।

इन्जिनियर जक्कीलाई गाली–गलौज गरिरहेको बेलामा वडा नं. ११ का वडा अध्यक्ष रेजाले सम्झाइबुझाई रहेको क्रममा वडा अध्यक्षलाई नै कुटपिट गरेको तथा नगरपालिका कार्यालयमा तोडफोड समेत गर्दै फर्निचर, सिसा टेबलहरू तोडफोड गरेको वडा नं. ८ का वडा अध्यक्ष ढुङ्गेलले जानकारी दिनु भएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनमा जानकारी गराउँदा प्रहरीले वास्ता नगरेको हरिवन नपाका प्रमुख गणेश प्रसाईले बताउनुभएको छ ।

हरिवन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी इलाका प्रहरी कार्यालय हरिवनमा पुगेर जनप्रतिनिधि तथा कर्मचारीहरू सुरक्षित नभएको भन्दै सुरक्षाको माग गरेका छन् ।

उक्त घटनाका दोषीलाई कारवाहीको लागि पुस १ गते दिउँसो ३ बजे उजुरी दिएको वडा नं. ६ का वडा अध्यक्ष प्रल्हद बुढाथोकीले जानकारी दिनु भएको छ ।

हरिवन नपाको जानकारी तथा उजुरी पश्चात् कुटपिट तथा तोडफोड गरि फरार तसिन रेजालाई छिटो भन्दा छिटो गिरफ्तार गरी कारवाहीको दायरामा ल्याउने इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुवास भट्टराईले जानकारी दिनु भएको छ ।

photo20191218sarlahi

अन्य

भिडियो