३४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह, ४० वर्षीय अनीलकुमार राय अमात, ३५ वर्षीय नसिम मियाँलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । साह शम्भुनाथ नपा–१२ का वडा अध्यक्ष हुनुहुन्छ ।
गाउँमा उत्पन्न विवाद पञ्चायती (छलफल) गरी मिलाइ दिने प्रलोभन दिएर मङ्सिर १२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितका १६ वर्षीय जेठो छोरा र २३ वर्षीया विवाहिता महिलाबीच प्रेम सम्बन्ध रहेकाले विवाह गर्नुपर्ने गाउँलेको दबाब अस्विकार गर्दै आएकी पीडितलाई छलफल गर्न घर जाउ भनी नसिमले स. १० प २५८३ नम्बरको मोटरसाइकलमा चढाएर नसिमको खाली रहेको घर छेउको एकान्त चौरमा लगेको पीडितले बताइन् ।
अनिलले वडा अध्यक्षले भनेको मान्नु भनी सल्लाह दिएर गएपछि आइपुगेका वडा अध्यक्षले बलात्कार प्रयास गरेको पीडितले बताइन् ।
वडा अध्यक्षकै भनाइमा मोटरसाइकलमा एकान्त चौरमा लगेको गिरफ्तार भएका अन्य आरोपितहरूले स्वीकारेको प्रहरीले जनायो ।
‘वडा अध्यक्षले बालक छोरा र विवाहिता महिलाको विवाहको कुरा आफूले पञ्चायती गरेर मिलाइ दिने भन्दै सो बापत शारीरिक सम्बन्धको प्रस्ताव राखे ।’–पीडितले भन्नुभयो–‘शरीर नै समाएर जबरजस्ती गर्न खोजेपछि प्रतिकार गर्दा ज्यान मार्ने धम्की दिए ।’
प्रतिकार गर्दै दक्षिणतर्फको बाँसको टाट उखेली भाग्दै गर्दा पनि आरोपित साहले कसैलाई पनि यो कुरा भनेमा ज्यान खतरामा पर्ला भनी धम्क्याएको उहाँले बताउनुभयो ।
वडा अध्यक्षविरूद्धको उजुरी प्रहरीले लिन नमाने पनि चार दिनसम्म प्रहरी कार्यालय धाएपछि एक महिला असईले मोबाइल रेकर्ड सुनेर सो बारे एसपी कृष्ण प्रसाईलाई जाहेर गरेपछि मात्र आरोपितहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
आरोपित नसिमले छलफल गर्न घर लैजानु पर्नेमा चौरीतर्फ मोटरसाइकल तीब्र गतिमा कुदाएपछि शङ्का लागेर पछाडि सवार पीडितले मोबाइलको भिडिओ रेकर्ड खोलेर लुकाउनुभएको थियो ।
करिब १७ मिनेटको रेकर्डमा दुई पक्षबीच भएको कुराकानी र प्रतिकारका कुरा सुनिन्छ । यही मोबाइल रेकर्ड चार दिनको प्रयासपछि महिला असईले सुनिदिएकाले न्याय पाउने आशा पलाएको पीडितले बताउनुभयो ।
गिरफ्तार तीनै जना आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता गरी मङ्सिर २५ गते सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको डिएसपी तिलक भारतीले बताउनु भयो ।