INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह र बहुविवाह घटनाको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

राजगढ गाउँपालिका–५ मलेकपुरकी २२ वर्षीया नितुकुमारी दासका पति कमलकुमार दासले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीकी १८ वर्षीया अनीता भनिने विष्णुमाया राईसँग बालविवाह तथा बहुविवाह गरे पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्सिर १ गतेसम्म उजुरी दर्ता नगरेको पीडितले आरोप लगाएकी छन् ।

सामाजिक परम्पराअनुसार २०७३ वैशाख २२ गते आरोपित कमलकुमार दाससँग विवाहिता पीडितका सन्तान छैनन् ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका– ६ महुली बजारमा मोबाइल मर्मत पसल सञ्चालन गरी सोही ठाउँमा डेरा गरी बस्ने आरोपित कमलले असोज २६ गते १८ वर्षीया युवतीसँग दोस्रो विवाह गरेका छन् ।

पीडितले आरोपित पति र विष्णुमायासहित विवाह गराउने ससुरा ६० वर्षीया जयनारायण दास, सासू ५५ वर्षीया मीनादेवी दास, नन्द सिरहाको लहान नपा–७ सिंगराहीकी ३७ वर्षीया गङ्गीयादेवी भनिने गङ्गादेवी दासविरूद्ध उजुरी दिएकी छिन् ।

५ लाख रुपियाँ दाइजो दिए घर फर्की आउनु नत्र नआउनु भन्दै ०७५ मङ्सिर २७ गते कुटपिट गरी घरनिकाला गरेदेखि पीडित महादेवा गाउँपालिका–१ स्थित माइतीघरमा बस्दै आएकी छिन् ।

आरोपितहरूले दोस्रो विवाह गरेको स्वीकारेको अडियो रेकर्ड, बालिका उमेर प्रमाणित हुने विद्यालयको प्रमाणपत्र, बालिकाकी दिदीले आरोपित कमलविरूद्ध जिल्ला प्रहरी कार्यालय र उच्च अदालत जनकपुर राजविराज इजलाशमा दिएको परमादेशसहितको प्रमाणका साथ उजुरी लिएर जाँदा समेत उजुरी दर्ता गर्न अस्वीकार गरेको पीडितका बुबा महादेवा गाउँपालिका–१ का कौशलकुमार दासले बताए ।

पीडित र पीडितका बुबासहित इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, सप्तरी जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, पूर्व अध्यक्ष एवम् पीडितका ठूलो बुबा केशवप्रसाद दाससहितका कानुन व्यवसायीहरू गत कात्तिक २९ गते र मङ्सिर १ गते उजुरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी गएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको मुद्दा शाखाका इन्स्पेक्टर सन्तोष खड्काले विवाह गरी भारततर्फ भागेका आरोपितहरू नेपालको सीमामा आएको खबर पीडित पक्षले दिएपछि मात्र मुद्दा दर्ता गरिने बताए ।

उनले विवाह गराउन घरपरिवारका अन्य सदस्यहरूको भूमिका नभएकाले उजुरीबाट उनीहरूको नाम हटाउन समेत भनेका छन् ।

अन्य

भिडियो