INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिनका लागि जिल्लाको सर्केगाडमा स्थापना भएका इलाका स्तरका वन, पशु सेवा, कृषि विकास र हुलाक कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

इलाका स्तरीय सरकारी कार्यालयमा कर्मचारी नहुनु र उचित व्यवस्थापन अभावका कारण सेवाग्राहीका कामकाज ठप्प रहेको रोडीकोट गाविस-२ का स्थानीयबासी ओमप्रसाद जैसीले बताए ।

०७३ साउनमा स्थापना भएका इलाका कृषि कार्यालयमा तीन जना करार कर्मचारी रहेको भएपनि काम नहुँदा थप समस्या परेको जैसीले गुनासो गरे । सर्केगाडमा स्थापना भएका सरकारी कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीको काम ठप्प रहेको रोडीकोट निवासी पौमल कामीले बताए । सामान्य काम पर्दा सिमकोट धाउनु पर्ने बाध्यता रहेको कामीले गुनासो गरे ।

नाम मात्रका इलाका कार्यालय खोलिएकाले कामकाज हुन नसकेको स्थानीयबासीले बताएका छन् । कार्यालयका लागि आवश्यक पर्ने भौतिक संरचना, कागतपत्र, कर्मचारी र सेवा सुविधामा कमी भएकाले दरवन्दीमा रहेका कर्मचारी कार्यालयमा नबस्दा समस्या भएको स्थानीयबासीले जनाए । इलाका कार्यालयमा दरबन्दीमा राखिएका कर्मचारीहरू काज मिलान गर्दै सदरमुकाममा बस्ने भएकाले सेवाग्राहीले दुख खेप्नु परेको ओमप्रकाश जैसीले बताए ।

अन्नपात र पशुलाई सामान्य रोग लागेको भएपनि स्थानीयबासीहरू सिमकोट धाउनु पर्छ । स्थानीयबासीले सहजै पाउनु पर्ने सेवा सुविधा नपाउदा दुख पाउने गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिनेशप्रसाद रायले सर्केगाड इलाका कार्यालयमा एक जना प्राविधिक सहायक, एक जना नायव प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको बताए । उक्त कार्यालयका कार्यालय प्रमुख कृष्ण तामाङ जिल्ला बाहिर रहेको रायले बताए भने अन्य दुई कर्मचारी कार्यालयमा छैनन ।

त्यसैगरी, पशु सेवा कार्यालयमा एक जना प्राविधिक सहायक र एक जना कार्यालय सहायक रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख हरिबहादुर कुवरले बताए । इलाका कार्यालयका कार्यालय प्रमुख सदरमुकाममा कामको लागि आएको कुँवरले बताए । सर्केगाडमा रहेका इलाका कार्यालयबाट सर्किदेउ, बराई, गोठी, रोडिकोट, श्रीमष्ठा, मेल्छाम, दार्मा र मिमी गाविसका स्थानीयबासीलाई सेवा दिने गरी स्थापना गरिएको थियो ।

अन्य

भिडियो