४५ वर्षीया महिलालाई बलात्कार घटनाका आरोपित फिदिम नपा–१४ का ४५ वर्षीय धनसिङ् फागोसहित तीन जनाविरूद्ध कात्तिक ७ गते जिल्ला अदालतले कसुर ठहर हुने फैसला गरेको छ ।
कसुर ठहर हुनेमा फरार रहेका सोही ठाउँका ३२ वर्षीय मिलन फागो र २९ वर्षीय सोमकुमार फागो रहेका छन् ।
अदालतको न्यायाधीश माननीय मोहनराज भट्टराईको इजलासले कसुर ठहर हुने फैसला गरेको अदातल स्रोतले जनाएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि पुनः पेश गर्नु पर्ने व्यवस्था अनुसार मुद्दा पुनः पेश गर्न समेत फैसला गरिएको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
आरोपित फागो जेठ २३ गतेदेखि पूर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए । पीडितलाई आरोपितहरूले वैशाख २८ गते बलात्कार गरेको भन्दै उनीहरू विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १० गते गरिएको थियो ।