दुई महिना अघि बागलुङमा विवाह गरेकी जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि उनको परिवारविरूद्ध माइतीपक्षले असोज ३० गते प्रहरीमा उजुरी दिएको छ ।
जिसीको शव पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा पर्ने कालीगण्डकी किनारमा असोज २८ गते नदीमा माछा मार्न गएका स्थानीयले फेला पारेका थिए ।
जिसीले ०७६ भदौ २ गते बागलुङ नगरपालिकाको गुठी निवासी ३४ वर्षीय असिम खड्कासँग प्रेम विवाह गरेकी थिइन् ।
विवाहपछि परिवारले अस्वीकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिँडेको भनेर मृतककी ३८ वर्षीया आमा कमला जिसीले जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छिन् ।
भागी विवाह गरेका र केटीको उमेर समेत नपुगेका कारण विवाह दर्ता भएको छैन । माइती पक्षले भने घर पक्षले छोरीलाई मानसिक र शारीरिक रूपमा हिंसा गर्दै आएको हुनाले घटना घटेको उल्लेख गर्दै प्रहरीमा उजुरी दिएको हो ।
शव पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।