खार्पुनाथ गाउँपालिका–५ मा रहेको मानधारा माध्यामिक विद्यालयमा रहेको रिले स्टेशनको टावरमा असोज १३ गते राति अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सो विद्यालयमा खार्पुनाथ गाउँपालिकाको कार्यालयले पुरै गाउँपालिका भ्याउने गरेर वाईम्याक्स र वर्डलिङ्कको रिले स्टेशन टावर राखेको थियो ।
टावरमा ढुङ्गा हानेर तोडफोड गरी क्षति पुर्याइएको मानधारा माध्यामिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले जानकारी दिए । टावर तोडफोड भएपछि खार्पुनाथ गाउँपालिकाका स्थानीय इन्टरनेट सेवाबाट वञ्चित भएका छन् ।
इन्टरनेटको टावर तोडफोड भएको भन्दै विद्यालयका तर्फबाट याङ्चु प्रहरी चौकीलाई असोज १४ गते उजुरी गरेको र उजुरी अनुसार घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, हुम्लाका डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।