अस्पतालको स्टोरमा औषधि अभाव भएपछि जिल्ला अस्पतालमा उपचार गर्न आउने बिरामी निजी मेडिकलबाट औषधि किन्न बाध्य भएका छन् ।
जिल्ला अस्पतालको औषधि स्टोरमा भदौ २७ गतेदेखि औषधि अभाव भएपछि अस्पतालमा उपचार गर्न आएका बिरामी निजी मेडिकलमा जान बाध्य भएका हुन् ।
सोरू गाँउपालिका–९ कालै गाँउका ५८ वर्षीय नरजित सुनार पेट दुख्ने र ज्वरोले थला परेपछि दुई दिन पैदल हिँडेर असोज ९ गते जिल्ला अस्पताल ठिनीमा पुगे ।
डाक्टरहरूले चेकजाँच गरे तर औषधि नभएको भन्दै अस्पतालमा औषधि नपाएपछि सुनारले मेडिकलमा औषधि किन्नु परेको बताए ।
पाँच दिनसम्म जिल्ला अस्पतालमा भर्ना भएर डिस्चार्ज भएका छायाँनाथ रारा नगरपालिका–१४ सुम्ली गाँउका गोर्ख नेपालीले अस्पतालमा औषधि नपाएको बताए ।
उनले मेडिकलबाट ३ हजार १ सय रुपियाँको औषधि किनेर प्रयोग गरेको बताए । ‘सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाउँछ भनेर सुनेका थियौँ । सबै औषधि मेडिकलबाटै किनेर ल्याउनुपर्यो ।’–नेपालीले भने ।
‘अहिले जिल्ला अस्पतालमा स्लाइनपानी र एसिलकको अभाव छ । अभाव भएका औषधिको लागि क्षेत्रीय मेडिकल स्टोर र जिल्ला स्वास्थ्य कार्यालय मुगुमा माग गरिरहेका छौँ । जिल्ला अस्पतालबाट बिरामीलाई निःशुल्क उपलब्ध हुने ७० प्रकारको औषधिमध्ये १० देखि २० प्रकारका औषधिमात्र छन् अरू औषधि सकिएको छ ।’–डाक्टर निर्मल नगरकोटीले भने ।
बिरामीहरूले अस्पतालको फार्मेसी र निजी मेडिकलबाट औषधि प्रयोग गर्ने गरेको जिल्ला अस्पतालका डाक्टर नगरकोटीले बताए ।
जिल्लामा औषधिको अभाव भइरहेको बेला मुगु जिल्ला स्वास्थ्य कार्यालयको नामको औषधिका पोका ६ महिनादेखि नेपालगञ्जको राँझास्थित एक होटलमा बेवरिसे रूपमा औषधि राखिएको छ ।
६ महिनादेखि उक्त स्थानमा बेवारिसे तरिकाले राखेको औषधि जिल्ला स्वास्थ्य कार्यालय मुगुको नाम लेखिएको भएपनि कसरी औषधि आयो ? ढुवानीको जिम्मा कसको हो ? कुनै जानकारी नभएको नभएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी बलि बुढाले प्रतिक्रिया दिए ।