त्रिभुवन राजपथमा सडक मर्मतको कार्य र ठूला सवारीको बढ्दो चापका कारण १२ घण्टा लामो सडक जाम हुँदा गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाहको असोज १० गते बिहान बाटोमै मृत्यु भएको छ ।
दुवै मृगौला फेल भएर उपचारका लागि सार्वजनिक बसमा रौतहट जिल्लाबाट काठमाडौँ ल्याइँदै गरेका शाहको अस्पताल पुग्न नपाउँदै पृथ्वीराजमार्ग स्थित थाक्रे गाउँपालिका–२ हूलाकडाँडास्थित बाटोमा नै मृत्यु भएको हो ।
आर्थिक अभावका कारण एम्बुलेन्समा आउन नसकेपछि ना ७ ख ५३६४ नम्बरको सार्वजनिक बसबाट आमा, भाइ र दाजुसँगै काठमाडौँ आउँदै गरेका शाहको सडक जामको कारण समयमा अस्पताल पुुग्न नसक्दा बसभित्रै आमाको काखमै मृत्यु भएको महादेव वेशी प्रहरी चौकीका असई बाबुलाल श्रेष्ठले बताए ।
यसरी लामो समयसम्म भएको सडक जामका कारण यात्रुहरू बाटोमै अलपत्र अवस्थामा बस्नु पर्ने बाध्यता भएको र शाहको पनि बाटो जामकै कारण समयमा उपचार नपाएर मृत्यु भएपछि बीचबाटोबाटै शवलाई रौतहट फर्काइएको महादेव वेशीस्थित जनजागृति माविका शिक्षक रामचन्द्र रुपाखेतीले बाताए ।
एम्बुलेन्स समेत आवतजावत गर्न नसक्ने गरी चार दिनदेखि सडक अवरूद्ध रहेकाले लामो दुरीका यात्रुहरू अलपत्र परेको शिक्षक रुपाखेतीले बताए ।