२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मिक्लाजुङ गाँउपालिका–१ का ३८ वर्षीय अवीरमान राईलाई जिल्ला अदालतले असोज ७ गते पाँच वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश मोहनराज भट्टराईको इजलासले कैद सजायसँगै पीडितले पाउने गरी ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
पीडित महिलालाई राईले ०७४ माघ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७६ वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले वैशाख ९ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । अदालतको असार ६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ९ गते जिल्ला अस्पतालमा गरिएको थियो ।