INSEC Online

📅 २०८३ जेष्ठ २१

छात्रवृति रकम तथा पाठयपुस्तकबाट वञ्चित

लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित श्री आधारभुत विद्यालयका विद्यार्थीहरूले एक वर्षदेखि दलित छात्रवृत्तिको रकम पाएका छैनन् भने यस आर्थिक वर्षमा पाठयपुस्तक पनि पाएका छैनन् ।

विद्यालयमा लगभग १ सय ८० जना बालबालिकाहरू अध्यनरत रहेका छन् भने ती मध्ये अधिकांश दलित बालबालिकाहरू छन् ।

शैक्षिक सत्र सुरू भएको पाँच महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठयपुस्तक नपाउँदा पुरानै पाठयपुस्तकमा पढ्न बाध्य भएको र छात्रवृत्ति रकम नपाउँदा शैक्षिक सामग्री किन्न नपाएको अभिभावक श्यामलाल सदाले बताए ।

विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा विद्यार्थीहरूले छात्रवृत्ति र पाठयपुस्तक पाएका छैनन् भने शिक्षकहरूले पनि तलब महिनौँदेखि पाएका छैनन् ।

व्यवस्थापन समितिको म्याद ०७५ असारमा सकियो, मङ्सिरमा अर्को समिति गठन प्रक्रिया सुरू भयो । अभिभावक भेलाले समिति गठनका लागि हरिप्रसाद सदाय, जलासीदेवी सदाय, अर्जुन मण्डल र बबिताकुमारी दासलाई सदस्यमा चयन गर्‍यो ।

गाउँपालिकाले मनोनित सदस्यमा छेदीलाल राम र सियावती सदायलाई मनोनित गरी निमित प्रअ विश्मभर शर्माको रोहबरमा अभिभावक, समितिका सदस्य, विद्यालय निरीक्षक र गाउँपालिकाको प्रतिनिधि भेलाले हरिप्रसाद सदाय अध्यक्षमा चयन गर्‍यो ।

विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरी आफ्नो अनुपस्थितिमा प्रकृया नपुर्‍याएर गठन भएको व्यवस्थापन समिति नमान्ने अडानमा छन् ।

व्यवस्थापन समिति प्रकृया नपुर्‍याइकन गठन भएको र सो विषयमा हालसम्म माइनुट पनि नपाएको, शिक्षा समितिले सिफारिस पनि नगरेकोले बैङ्क खाता सञ्चालन भएको छैन ।

खाता सञ्चालन नहुँदा पाठ्यपुस्तक, छात्रवृत्तिको रकम र शिक्षकहरूको तलब पनि रोकिएको प्रअ चौधरीले बताए ।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सदायले आफू दलित भएकै कारण प्रअ चौधरीले स्वीकार नगरी प्रकृया अगाडि नबढाएको बताए ।

लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामवल्लभ साहका अनुसार नियम अनुसार गठन भएको व्यवस्थापन समितिलाई प्रअले मान्दिन भनी विवाद गरेकोले उनको तलब समेत गाउँपालिकाले रोक्का गरेको बताए ।

आफ्नो तलब रोक्का गरेकाले प्रअले विद्यालयको खाता सञ्चालनमा नल्याएको, पाठ्यपुस्तकका लागि रकम, शिक्षकहरूको तलब र छात्रवृत्तिको रकम माग नगरेको गाउँपापिलका अध्यक्ष साहले बताए ।

अन्य

भिडियो