मुगुम कार्मारोङ्ग गाउँपालिका-८ माँग्री गाँउमा रहेको श्री बुद्ध माध्यमिक विद्यालय र उक्त विद्यालयले सञ्चालन गरेको छात्राबासमा खानेपानीको समस्या हुँदा विद्यार्थीलाई पढाइमा बाधा हुने गरेको छ ।
श्री बुद्ध माध्यमिक विद्यालयले आफनो विद्यालयमा विद्यार्थीहरूका लागि मुगुम कार्मारोङ्ग गाउँपालिका-९ चिमात गाउँको परौटी भन्ने ठाउँदेखि नौ किलोमिटर टाढाबाट र महिला छात्राबासका लागि माँग्री गाउँकै घट्ट भन्ने ठाउँदेखि पाँच किलोमिटर टाढाबाट खानेपानी ल्याएको थियो ।
विद्यालय र महिला छात्राबासमा ल्याएको खानेपानी पाइपलाइनलाई गत साउन ३२ गते आएको बाढीपहिरोका कारण पाइपलाइन र मुल टयाङ्कीमा क्षति भएपनि अहिलेसम्म उक्त क्षतिग्रस्त पाइपलाइन र टयाङ्कीको विद्यालयले मर्मत नगर्दा विद्यार्थीहरूलाई पढाइमा बाधा पुगेको छ ।
उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म २ सय ५० जना विद्यार्थी अध्यनरत छन् । महिला छात्राबासमा २७ जना छात्राहरू बस्ने गरेका छन् ।
विद्यालय र छात्राबासको धारामा साउन ३२ गतेदेखि पानी आएको छैन । खानेपानी ल्याउन छात्राबासबाट १५ मिनेट टाढा गाउँको धारामा जानुपर्छ गाउँको धारामा पानी ल्याउन पालो कुर्नु पर्छ । पानी ल्याउन ३० मिनेटदेखि एक घण्टासम्म लाग्छ खानेपानीकै कारण बिहान बेलुकाको पढाइ छुट्छ ।
विद्यालयको धारामा पनि पानी आउँदैन तिर्खा लागे कक्षाको पढाइ छोडेर गाउँको धारामा जानुपर्ने बाध्यताले पढाइमा बाधा हुने गरेको छात्राबासमा बसेर उक्त विद्यालयमा अध्यनरत छात्रा टासी कुञ्जाङ्ग लामाले बताइन् ।
विद्यालय र छात्राबासको धाराको पाइपलाइन र टयाङ्कीमा क्षति भएकाले विद्यार्थीलाई पढाइमा बाधा पुगेको एक महिना बितिसक्दा समेत विद्यालयले गाउँपालिकाललाई जानकारी नदिएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउँछन् ।
धारामा पानी ल्याउन के कति आवश्यक रकम चाहिने हो विद्यालयले जानकारी दिए तत्काल विद्यालय र धारामा पानी ल्याउन सकिने अध्यक्ष लामाले बताए ।
विद्यालय र छात्राबासका धारामा पानी नआउँदा बाधा पुगेको हो । छात्राबासका लागि ल्याएको पानीको टयाङ्की मर्मत गर्नका लागि आवश्यक रकम माग गर्न गाउँपालिकालाई सहयोग माग्नका लागि एक-दुई दिनमा विद्यालय व्यवस्थापन समितिको बैठकको बोलाएर रकम माग गर्ने बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक चित्रबहादुर वलीले जानकारी दिएका छन् ।