जाजरकोट जिल्ला अस्पतालमा सरकारले निःशुल्क दिने भनेका सामान्य खालका औषधि पनि पाइन छोडेको छ ।
जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव हुँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायतका बिरामीको चाप बढ्दै गएको भएपनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ ।
अस्पतालले नयाँ आर्थिक वर्ष सुरू भएको दुई महिनासम्म पनि औषधि खरीद नगर्दा अभाव भएको हो । जिल्ला अस्पतालमार्फत सरकारले ७२ प्रकारका औषधि निःशुल्क दिने भने पनि यतिबेला सिटामोल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलिन, भुस्कोपान, कोर्टिन, भिटामीन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाईट, सिप्रो, एसिलक, पोन्टक्सलगायतका अत्यावश्यक औषधिको अभाव भएको छ ।
मौसम परवर्तन भएसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दो छ । तर, निःशुल्क पाउने औषधि समेत नपाउँदा सेवाग्राही मर्कामा परेका छन् ।
दैनिक १ सयदेखि १ सय ५० सम्म बिरामी उपचारका लागि आउने गरेको भएपनि त्यस मध्ये ६०÷७० जना भाइरल ज्वरोका मात्र बिरामी आउने गरेका छन् ।
भेरी नगरपालिका–२ की कमला थापालाई टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि जिल्ला अस्पताल आइन् । उनको चेकजाँच गरेर डाक्टरले औषधि लेखिदिए ।
तर, अस्पतालमा उनले कुनै पनि औषधि पाइनन् । सिटामोल समेत अस्पतालमा नभएपछि निजी मेडिकलमा किन्नु परेको उनको गुनासो छ ।
अस्पतालको फार्मेसीमै औषधि नभएपछि उनी निजी मेडिकल जान बाध्य भएकी हुन् । ‘केही समय पहिले कुनै पनि औषधि बाहिर किन्नु पर्दैन्थ्यो सबै निःशुल्क पाइन्थ्यो तर, अहिले सबै औषधि किनेर खानु पर्ने बाध्यता छ ।’–उनले भनिन् ।
उनी मात्र होइन उपचारको लागि जिल्ला अस्पताल पुग्ने बिरामीले औषधि नपाउँदा समस्यामा पर्ने गरेका छन् ।
आर्थिक अवस्था कमजोर भएका र सधैँजसो निःशुल्क औषधि पाइरहेकाहरुले नपाउँदा साँच्चिकै समस्यामा परेको स्थानीय धर्मराज परियारले बताए ।
अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, गुलोब्स र आरएल समेतको अभाव भएको छ । लेखापाल नहुँदा ल्याव सेवा समेत बन्द हुने अवस्थामा पुगेको छ ।
‘ल्यावका लागि आवश्यक पर्ने किटहरू समेत सकिएको छ ।’–डा. केशरजङ्ग कार्कीले भने–‘हामीलाई काम गर्न निकै गार्हो भयो । औषधि खरिदका लागि बजेट आएपनि लेखामा काम गर्ने लेखापाल नहुँदा समस्या परेको छ ।’
औषधि खरिदका लागि बजेट निकासा भइसकेको भएपनि लेखापाल नहुँदा औषधि खरिद गर्न नपाएको उनले बताए ।
अस्पतालमा लेखापालको दरबन्दी भएपनि दुई वर्षदेखि पदपुर्ति हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रकको कार्यालयले तलब खुवाउन काजमा पठाउने गरेपनि असारदेखि लेखापाल आएका छैनन् । लेखापाल नहुँदा स्वास्थ्यकर्मीले साउनदेखि तलब भत्ता समेत खान पाएका छैनन् ।
भेरी नगरपालिका–४ का विष्णु भडेलले अस्पतालमा भरपर्दो उपचार सेवा नपाइने गरेको गुनासो गरे । ‘सामान्य रोगको पनि उपचार हुँदैन । यो अस्पतालले निःशुल्क पाइने औषधि पनि दिँदैन । बिरामीलाई उपचारको साटो रिफर गरेर अन्यत्र पठाउँछ ।’– उनले भने ।
जिल्ला अस्पताल प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा गएपछि झन् अस्तव्यस्त भएको छ । न समयमा औषधि आपुर्ति हुन्छ न उपकरण र दक्ष जनशक्तिको पदपुर्ति नै !
धेरै स्वास्थ्यकर्मी समायोजन भएर अन्यत्र गइसकेका छन् । ‘५० शैयाको भनिएको यो अस्पताल नाम मात्रको छ न आवश्यक औषधि पाइन्छ, न दक्ष जनशक्ति नै !’–स्थानीय धनबहादुर खड्काले भने–‘एउटा स्वास्थ्य चौकीले दिने जति सेवा पनि पाइँदैन ।’
लेखापालको तत्काल ब्यवस्था गर्न भन्दै कोलेनिका देखि प्रदेश मन्त्रालय धाउँदा समेत सुनुवाइ भएन अस्पताल विकास समितिकी अध्यक्ष धर्मशीला बस्नेतले भनिन्–‘अस्पतालमा डाक्टरलाई काम गर्ने वातावरण नै छैन । उपकरण, सेवासुविधा र पुर्वाधार नहुँदा कसरी काम प्रभावकारी हुन्छ ?’ लेखापालको अभावले पठाउन नसकिएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भदौ २७ गते जिल्ला अस्पतालको अवस्था निरीक्षण गरेका छन् ।
अस्पतालमा लेखापाल नहुँदा औषधि खरिद गर्न, स्वास्थ्यकर्मीहरूको तलबभत्ता खान नपाएको समस्यालाई अध्ययन गर्दै प्रजिअ पन्तले आफ्नो तर्फबाट लेखापालको लागि तत्काल पहल गर्ने बताए ।