मुसिकोट नगरपालिका-३ माछिमीकी २५ वर्षीया कमला बुढाथोकीलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति नविन खड्कालाई भदौ १७ गते गिरफ्तार गरेको छ ।
अत्यधिक मदिरा सेवन गरेका खड्काले पत्नीलाई भदौ १६ गते राति खुर्पा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
पत्नीको हत्यापछि भागेका आरोपित खड्कालाई भदौ १७ गते बिहान घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।
उनीसँगै पत्नीलाई प्रहार गरेको खुर्पा समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको मुख्य कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।
शवको पोष्टमार्टमका लागि भदौ १७ गते जिल्ला अस्पताल सल्ले लगिने पनि प्रहरीले जनाएको छ ।