नाम्खा गाउँपालिका-६ स्थित उत्तरी क्षेत्रमा रहेको लिमी स्वास्थ्यचौकीमा पाँच जना स्वास्थ्यकर्मीको दरबन्दी भएता पनि चार महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित भएका छन् ।
दुईजना अनमी, दुई जना अहेब र एक जना सिनियर अहेबको दरबन्दी भएता पनि अहिले लिमी स्वास्थ्यचौकीमा कोही नभएको जिल्ला अस्पतालका डाक्टर अमित विष्टले जानकारी दिए ।
अनमीद्वय कविता शाह, सुसिला शाह, अहेबद्वय नर भण्डारी, दिपक रावत र सिनियर अहेब बुधे बुढा कार्यरत भएता पनि लामो समयदेखि उपस्थित नहुँदा स्वास्थ्यचौकी लामो समयदेखि खाली रहेको स्थानीय रिञ्जिन लामाले बताए ।
स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सुत्केरी व्यथा लागेकी नाम्खा गाउँपालिका-६ की ३५ वर्षीया सोनाम टेण्डी लामालाई लिमीदेखि १ लाख ५० हजार रुपियाँ भाडा तिरेर हेलिकप्टरबाट साउन १९ गते सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल पुर्याइएको लामाले बताए ।
स्वास्थ्यकर्मी नभएपछि स्थानीयले सुत्केरी व्यथा लागेकी लामालाई महङ्गो मुल्य तिरेर हेलिकप्टर चार्टर गरी जिल्ला अस्पताल पुर्याइएपनि बच्चाको ज्यान बचाउन नसकिएको लामाले बताए ।
समयमै अस्पताल ल्याएका कारण सुत्केरी आमाको ज्यान बचाउन सफल भएको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले जानकारी दिइन् ।
हुम्लामा स्वास्थ्यचौकीमा कर्मचारी नबस्नाले गर्भवती महिला र बच्चाको ज्यान जोखिममा हुने गरेको स्थानीयको गुनासो छ ।