राइनास नपा–६ की १९ वर्षीया प्रमिला नेपालीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा पीडित पक्षले २५ वर्षीय सन्तोष नेपालीका विरूद्ध साउन १४ गते जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको छ ।
मृतकले साउन ९ गते सुसाइड नोट लेखी आफ्नै घरको कोठामा डोरीको पासो लगाई आत्महत्या गरेको विषयलाई आधार बनाई माइती पक्षले पतिविरूद्ध उजुरी गरेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि भनेर घरबाट यही साउन ६ गते गएका पतिले आफूलाई मानसिक यातना दिने गरेको भनी मृतकले सुसाइड नोटमा उल्लेख गरेको भेटिएको डिएसपी गुरुङले जानकारी दिए ।
आरोपितलाई भने प्रारम्भिक अनुसन्धानका लागि साउन १३ गते नै गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ । शवको पोष्टमार्टम साउन १२ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ को उपदफा १ मा कसैले कसैलाई आत्महत्या गर्न दुरूत्साहन गरेमा वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गरेमा कसुर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।